कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु

राजधानी– कुवेतमा विषाक्त मदिरा सेवनका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ। कुवेतस्थित नेपाली दूतावासले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
कुवेतस्थित दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरी बिरामी भएका व्यक्तिहरूको उपचार भइरहेको छ। ‘विरामीहरु उपचाररत छन् भने केही शवहरू पनि छन्। कारणबारे हामी बुझ्दैछौं,’ उनले भने। मृतकमध्ये कति जना नेपाली हुन् भन्ने अझै पुष्टि हुन बाँकी छ।
नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले पनि घटनामा नेपालीहरू समेत रहेको पुष्टि गरेका छन्। उनका अनुसार आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ।
कुवेत टाइम्सका अनुसार शनिबारदेखि विषाक्त मदिरा सेवन गरेर अस्पताल भर्ना हुनेको संख्या बढेको हो। स्वास्थ मन्त्रालयले पुष्टि गरे अनुसार शनिबारयता ६३ जना अस्पताल भर्ना भएका थिए भने १३ जनाको मृत्यु भएको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिर्गौला फेल भएर ५१ जनाको डायलासिस चलिरहेको छ। २१ जनामा पूर्ण वा आंशिक दृष्टिदोष देखिएको छ। यस्तै, ३१ जनालाई भेन्टिलेसनमा राखेर उपचार भइरहेको छ।
कुवेतमा मदिरा पूर्ण रूपमा प्रतिबन्धित भएपनि लुकिछिपी अवैध उत्पादन र बिक्री भइरहेका छन्। विषाक्त मदिराको स्रोत पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले अनुसन्धान जारी राखेको छ। प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको छ।
मेथानोल एक विषालु रसायन हो, जुन उद्योगमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिन्छ। सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि सुरक्षित भएपनि, मेथानोल प्रयोग गर्दा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो, कोमा र मृत्युको जोखिम बढ्छ।