‘राष्ट्रिय गौरव’को नाममा चुरेमा लुटः चौदण्डीका मेयर, उनका भाइ, वडाध्यक्ष र सीमावर्ती व्यापारीको साँठगाँठ

बेल्टार (उदयपुर) — चुरे संरक्षण क्षेत्रभित्र पर्ने चौदण्डीगढी नगरपालिका–४ कालिखोलामा ‘राष्ट्रिय गौरवको आयोजना’का नाममा गरिएको नदीजन्य पदार्थको अवैध उत्खननमा नगरपालिकाको नेतृत्व प्रत्यक्ष संलग्न भएको प्रमाण फेला परेको छ।
यो प्रकरणमा चौदण्डीगढीका मेयर कालुमान लामा, वडा नं. ४ का वडाध्यक्ष लुंगाराज राई, मेयरका कान्छा भाइ विपिन तामाङ र सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरका व्यवसायी अमर खवास सम्मको संलग्नता रहेको स्थानीय, राजनीतिक दल र प्रहरी स्रोतले जनाएका छन्।
प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ अनुसार जेठ ३१ देखि असोज १ सम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण प्रतिबन्ध छ। तर, मेयर लामाले सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) बाट असार ८ गते प्राप्त पत्रलाई आधार बनाएर, वास्तविक अनुमति प्रक्रिया पूरा नगरी उत्खननको मौखिक ‘अनुमति’ दिएको ठेकेदार स्रोतको दाबी छ।
सीताराम कन्स्ट्रक्सनका सञ्चालक तेजनारायण साहले यसै आधारमा कालिखोलाबाट ६ हजार घनमिटर माटो निकालेर चाइना रेलवे नं. २ इन्जिनियरिङ कम्पनीलाई आपूर्ति गरेका थिए। स्थानीयको भनाइअनुसार उत्खनन ऐलानी (सरकारी) जमिनमा भएको हो।
तर, मेयरको संरक्षणमा नम्बरी जमिनको पुर्जा देखाएर काम अघि बढाइएको थियो। यो प्रक्रिया मिलाउन मेयरका भाइ विपिन तामाङ, प्रमुख प्रसाशकीय अधिकृत काजीमान राई, वडाध्यक्ष लुंगाराज राई, ठेकेदार साह र व्यवसायी अमर खवासबीच निरन्तर बैठक र आर्थिक लेनदेन भएको स्रोतको दावी छ।
स्रोतका अनुसार एडीबीले सामाग्री उपलब्ध गराउन भन्दै असार ८ गते मात्र पत्र लेखेको छ। तर, ठेकेदारले जेठ ३० गते नै नगरपालिकाको खातामा रु. २ लाख ८२ हजार ४८० रुपैयाँ जम्मा गरेको पाइएको छ। त्यस मध्ये नगरपालिकाले सोही दिन स्थान, समय र परिमाण नखुलाई ‘दहत्तरबहत्तर शुल्क’ उल्लेख गरी १ लाख ४१ हजार २४० रुपैयाँ राजश्व काटेर सिताराम कन्ट्रक्सनलाई रसिदसमेत दिएको फेला परेको छ।
यसरी खातामा करिव पौने ३ लाख रुपैयाँ जम्मा हुनु र नगरपालिकाले करिव डेढ लाखको राजश्व रसिद काट्नुलाई उत्खनन सुरु गर्नु अघि नै नगर नेतृत्व र ठेकेदारबीच ‘सम्झौता’ भएको प्रमाणका रूपमा हेरिएको छ।
यसरी सर्वसाधारणलाई भुँमरीमा पारेर उत्खनन सुरु भएपछि गत साउन ४ गतेदेखि स्थानीयले चर्को विरोध गरे। दबाब बढ्दै जाँदा मेयर लामा ‘पारिवारिक भ्रमण’ भन्दै चीन प्रस्थान गरे। तर, ३ वटा एक्स्काभेटर राखेर उत्खनन भने निरन्तर चलिरह्यो।
स्थानीय जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई उजुरी दिएपछि इलाका प्रहरी कार्यालय बेल्टारले उत्खनन स्थलबाट १७ वटा टिपर नियन्त्रणमा लिएर शसस्त्र क्याम्प सातधारेमा राखेको छ। यसरी उत्खननमा बाधा उत्पन्न भएपछि चीनबाट फर्केका मेयर लामाले कार्यपालिका वैठकबाट यो समस्यालाई सल्टाउने प्रयास गरेका थिए। तर, वडा नं. ७ का अध्यक्ष केशव अधिकारी, कार्यपालिका सदस्य तिलावती राई र उदयराज भुजेलले कार्यपालिका वैठक वहिस्कार गरे।
स्थानीय राजनीतिक दलले पनि संलग्नलाई कारवाहीको माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एस) र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै ‘मेयर, वडाध्यक्ष, उनका भाइ र संलग्न व्यवसायीलाई तत्काल कारबाही’को माग गरेका छन्।
उदयपुरका सीडीओ प्रेमप्रसाद लुइँटेलले छानविनका क्रममा गलत गरेको प्रमाणित भए कानुनअनुसार कारबाही गरिने बताएका छन्।
छानबिन समितिमा पनि विवादित व्यक्ति
चौतर्फी दबाब बढेपछि मेयर लामाले घटनाको छानबिनका लागि समिति बनाएका छन्। जसमा वडाध्यक्ष प्रकाश राउत (पूर्वमा पत्रकारमाथि दुर्व्यवहार प्रकरणमा संलग्न), वडाध्यक्ष लुंगाराज राई र इन्जिनियर पंकज राईलाई सदस्य छन्। तर, स्थानीयवासीले भने स्वयम घट्नामा संलग्न ब्यक्तिलाई छानबिनको दिएको भन्दै विरोध गरेका छन्।