नक्कली भुटानी शरणार्थी काण्डका अभियुक्त टोपबहादुर रायामाझी र पूर्वसचिव पाण्डे कारागारबाट भागे
काठमाडौँ– नक्कली भुटानी शरणार्थी काण्डका अभियुक्त एमालेका पूर्व सचिव एवम् पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका नेता टोपबहादुर रायमाझी समेत कारागारबाट भागेका छन्। टोपबहादुर केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धाराको भद्र बन्दी गृहमा सजाय भुक्तान गरिरहेका थिए।
मंगलबार अन्य कैदी बन्दी भागेपछि उनीसहित सोही काण्डमा जेलमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डे समेत जेलबाट भागेका हुन्। मंगलबार जेन–जी प्रदर्शनका क्रममा धेरै जेलबाट कैदी बन्दी भागिरहेका छन्।
यता डिल्लीबजारस्थित कारागारमा समेत कैदी बन्दीहरू भाग्ने तयारी गरेका छन्। यद्यपि नेपाली सेनाले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
पूर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद रायमाझी ०८० वैशाखमा बुढानीलकण्ठबाट पक्राउ परेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो।
सांसद रायमाझी गृह जिल्ला अर्घाखाँचीमा रहेकै बेला पक्राउ पुर्जी जारी भएको खबर पाएपछि उनी काठमाडौँ फर्कने क्रममा फरार भएका थिए। नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै वैशाख २० गते बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन भएका थिए।
रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बरको टाटा हेक्सा गाडी २१ गते बिहीबार दिउँसो चितवनबाट मुस्लिन हुँदै काठमाडौँ आएको थियो। सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीको दाबी थियो।
