जेनजी आन्दोलनपछि सप्तरीमा सर्वदलीय बैठकको निर्णयः तानाशाही र प्रतिगमन स्वीकार छैन

राजविराज– जेनजी आन्दोलनले देशको राजनीतिक अवस्था पूर्ण रूपमा संकटग्रस्त बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देश सरकारविहीन बनेको छ। अधिकांश राजनीतिक दलहरू प्रतिवन्धित जस्तै अवस्थामा छन्, नेताहरूका घरहरूमा आगजनी भएको छ र उनीहरू परिवारसहित अज्ञात स्थानमा लुकेका छन्।

सिंहदरबार, सर्वोच्च अदालत र अन्य भौतिक संरचना ध्वस्त भएका छन्। नेपाली सेना बाहेक देशका अन्य निकायहरू पूर्ण रूपमा कामकाजमा असक्षम (प्यारालाईज्ड) छन्। नेपाली सेनाले हाल देशको नेतृत्व सम्हाल्दै अन्तरिम सरकार गठनका लागि जेनजी समूहसँग छलफल गरिरहेको छ। तर, जेनजी समूह आपसमै कुटाकुट र विभाजनमा छन्। आफुलाई ‘असली’ जेनजी प्रमाणित गर्न उनीहरूबीच प्रतिस्पर्धा जारी छ।

यही मौकाको फाइदा उठाउँदै, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्टेकहोल्डरका रूपमा छलफलमा समावेश गरिएको छ। यसले राजनीतिक दलका नेताहरू सशंकित छन्। देश प्रतिगमनमा जाने र राजा फर्काउने भित्री खेल भईरहेको उनीहरुको आशंका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जेनजीको नेतृत्व गर्नु र उनले संसद विघटनलाई पहिलो सर्तका रूपमा अघि सारेका कारण पनि दलका नेताहरूलाई त्रसित बनाएको छ।

यस्तो विषम परिस्थितिमा सप्तरी जिल्लामा विहिबार क्रियाशिल प्रमुख राजनीतिक दलहरूको संयुक्त सर्वदलीय बैठक बसेको छ। बैठकमा लिइएका निर्णयहरूमा जेनजी आन्दोलनमा शहीद भएकाहरू प्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइते र अपाङ्ग भएका व्यक्तिहरूको स्वास्थ्य लाभको कामना गरिएको छ। निःशुल्क स्वास्थ्य उपचारको माग गरिएको छ।

आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र घुसपैठ जस्ता हिंसात्मक क्रियाकलापको घोर भत्र्सना गरिएको छ। बैठकले संविधान अनुसार राष्ट्रिय राजनीतिमा तानाशाही र प्रतिगमन स्वीकार नहुने निर्णय लिएको छ। राजनीतिक निकास फौजी हेडक्वाटरबाट होइन, राष्ट्रपतिको प्रत्यक्ष नेतृत्वमा हुनुपर्ने माग पनि बैठकले गरेको छ।

यसैगरी राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद, ऐतिहासिक जनआन्दोलन तथा मधेश विद्रोहबाट प्राप्त संवैधानिक अधिकारको रक्षा गर्दै संविधानको संरक्षण गर्न सबै युवा, विद्यार्थी, राजनैतिक दल, पत्रकार, शिक्षक, कर्मचारी, व्यवसायी, नागरिक समाज र आम जनतालाई संयमित भएर योगदान दिन अपिल गरिएको छ।

बैठकमा नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव, सूर्यनाथ यादव, नेपाली कांग्रेसका सनतकुमार मण्डल, नेकपा एमालेका देवनाथ यादव, जनमत पार्टीका रामगमन साह, एनेश्वर साह, जसपा नेपालका लक्ष्मण यादव, दिनेश कुमार यादव, लोसपाका सुनिल कुमार झा, नेकपा एसका प्रताप नारायण चौधरी र रास्वपाका अरुणकुमार देव उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट