नेपालको जेन–जी आन्दोलनको उदाहरण दिएपछि पक्राउ परे लद्दाखका सामाजिक अभियन्ता वाङचुक

काठमाडौँ– भारत प्रशासित लद्दाखमा पछिल्ला दिनमा चर्किएको आन्दोलनको जिम्मेवार ठहर गर्दै चर्चित सामाजिक अभियन्ता तथा जलवायु कार्यकर्ता सोनम वाङचुकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार वाङचुकलाई लद्दाखको लेहस्थित आफ्नै गाउँ उल्याकटोपोबाट लद्दाखका डीजीपी एसडी सिंह जामवालको नेतृत्वमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो। दुई दिनअघि लेहमा भएको हिंसात्मक प्रदर्शनका लागि भारत सरकारले उनलाई जिम्मेवार ठह¥याएको छ।
वाङचुकको गिरफ्तारीपछि लेहमा इन्टरनेट बन्द गरिएको छ। सेप्टेम्बर २४ मा भएको हिंसापछि लगातार तेस्रो दिन कफ्र्यु लगाइएको छ भने स्कुल र कलेज शनिबारसम्मका लागि बन्द गरिएका छन्। आन्दोलनका क्रममा चार युवाको मृत्यु भएको छ भने ४० प्रहरीसहित ८० जना घाइते भएका थिए। अहिलेसम्म ६० जना पक्राउ परेका छन्।
बुधबार भएको प्रदर्शनमा आक्रोशित युवाहरूले ढुंगा प्रहार गरेपछि प्रहरीसँग झडप भएको थियो। त्यस क्रममा भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा समेत आगजनी गरिएको थियो। त्यही भिडमा वाङचुकले नेपालमा हालै भएको ‘जेन–जेड आन्दोलन’ को उदाहरण दिएर युवालाई उक्साएको आरोप भारतको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
वाङचुककी पत्नी गीताञ्जली आङमोले गिरफ्तारीप्रति तीव्र आपत्ति जनाउँदै ‘मेरो श्रीमानलाई अपराधीझैँ व्यवहार गरिएको छ, जबकि उनी जीवनभर शान्ति र अहिंसाका पक्षमा उभिएका व्यक्ति हुन्।’ भन्दै गुनासो गरेकी छिन्।
जम्मु–कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले यसलाई दुर्भाग्यपूर्ण भने। उनले भने, ‘केन्द्र सरकार वाङचुकको पछि परिरहेको देखिन्थ्यो। वाचा तोडेर अहिले यस्तो कदम चाल्नु अलोकतान्त्रिक हो।’ दिल्लीस्थित आम आदमी पार्टी (आप) ले वाङचुकको गिरफ्तारीविरुद्ध जन्तर मन्तरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
त्यस्तै, पीडीपी नेतृ महबुबा मुफ्ती, जम्मु–कश्मीर कांग्रेसका नेता गुलाम अहमद मीर, कम्युनिस्ट पार्टी अफ इन्डिया (माक्र्सवादी–लेनिनवादी) ले घट्नाको विरोध गरेका छन्। विभिन्न सामाजिक–राजनीतिक समूहले लामो समयदेखि लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र भारतको संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै आएका छन्।
यही मागका आधारमा भएको प्रदर्शन हिंसात्मक रूप लिँदा स्थानीय प्रशासनले कफ्र्यु र इन्टरनेट बन्द जस्ता कठोर कदम चालेको हो। वाङचुकको गिरफ्तारीसँगै आन्दोलन अझ चर्किने संकेत देखिएको छ।