रास्वपामा सुमनापछि तोसिमालाई ‘गेटआउट’, भण्डाफोर गर्ने चेतावनी

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्वसांसद तोसिमा कार्कीले आफ्नै पार्टी संस्थापनविरुद्ध कडा आक्रोश पोखेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले संस्थापनमाथि आरोप लगाउँदै पार्टीभित्रको आन्तरिक विवादलाई खुला रूपमा सार्वजनिक गरेकी छिन्।
उनले आफूले जिम्मेवार ढंगले पार्टी सुदृढीकरण, रुपान्तरण र समयसापेक्षिक नीतिगत बहस उठाउँदा ‘गेटआउट’ भनेर बुल्ली गरिएको भन्दै चेतावनी दिएकी छिन्। कार्कीले लेखेकी छिन्, ‘पार्टीलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ र समय सापेक्षिक रुपान्तरण गरौँ भनी जिम्मेवारपूर्ण तरिकाले राजनीतिक विषय उठान गर्दा ‘गेटआउट’ भनेर बुल्ली गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरूको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।”
कार्कीले आफूले पार्टी निर्माणका लागि प्रस्तुत गरेको चार बुँदे पत्रलाई गलत रूपमा प्रचार गरिएको आरोपसमेत लगाएकी छिन्। उनको भनाइमा, राजीनामा दिन लागेको भनेर झूटो प्रचार, पार्टी सभापतिको विकल्प खोजेको भनेर विषयलाई अतिरञ्जित गर्ने, अनि ‘पार्टीबाट निकाल्नुपर्छ’ जस्ता भनाइहरु मार्फत कार्यकर्तामाझ भ्रम फैलाइएको छ।
उनले भनेकी छिन्, ‘कहिले राजीनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेस गरिएको पत्रको चार बुँदा राम्रोसँग अध्ययन नगरी विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, अनि विकल्प खोज्नेलाई छाड्न हुन्न, पार्टीबाट निकाल्नुपर्छ भनेर मिडिया ट्रायल गर्ने?’
कार्कीले पार्टी संस्थापनलाई खुला चुनौती दिँदै विशेष अधिवेशन आह्वान गर्न आग्रह गरेकी छिन्। उनको भनाइमा, ‘हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्। पार्टी सभापतिको आशिर्वाद लिएर लाखौं कार्यकर्ता तथा शुभेच्छुकको मत पाएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट तोसिमा सँग छ।’
कार्कीले आफू ‘आन्दोलनकै क्रममा प्रहरीको गोलीबीच हिँडेको मान्छे’ भएको स्मरण गराउँदै डर–त्रासले आफूलाई विचलित पार्न नसक्ने बताएकी छिन्। उनले प्रष्ट पार्दै लेखेकी छिन्, ‘तिमीहरूको प्रोपागाण्डा र हेपाहा बोलीसँग रत्तिभर डराउँदिन। जति नै बुल्ली र मिडिया ट्रायल गरे पनि राजनीतिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र पार्टी पंक्ति छोडेर भाग्दिन। देश बनाउन हिँडेको योद्धा हो, लड्छु।’
यद्यपि उनले आफूलाई ‘गेटआउट’ भनेका र बुल्ली गर्ने व्यक्तिहरूको नाम भने खुलाएकी छैनन्। तर उनको चेतावनी छ — आवश्यक परे सार्वजनिक भण्डाफोर गर्छु।
यस्तै ब्यवहारका कारण यसअघि नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी थिईन। जेनजी आन्दोलनको आवरणमा सभापति रवि लामिछाने भागेको विषयमा सवाल–जवाफ हुँदा नेता हरी ढकालले ‘बाघको छालामा स्यालको रजाईँ’ भनेपछि उनले पार्टी छोडेको घोषणा गरेकी थिईन।
यद्यपी उनी सुरुवात देखि नै काठमाडौँका मेयर बालेन्द्र साहको सम्पर्कमा रहेको खुलेको छ। जेनजी आन्दोलनअघि भएको डिस्कर्ड छलफलमा समेत उनको सहभागिता रहेको खुलेको छ। छलफलमा बालेन्द्रसहित श्रेष्ठ पनि सहभागि थिईन।