झापाको गौरादहमा माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु

दमक– झापाको गौरादह नगरपालिका–९ खजुरबारीमा माछा मार्ने क्रममा खोलामा डुबेर तीनजना बालिकाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो करिब १ बजे कृष्ण खोलामा माछा मार्न गएका बालबालिकामध्ये तीन जनाको डुबेर ज्यान गएको हो। मृत्यु हुनेमा अञ्जु मगरकी दुई छोरी—९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुष्मा मगर तथा रोमन (मोते) परियारकी ११ वर्षीया छोरी रोशनी परियार छन्।
स्थानीयका अनुसार बालिकाहरू माछा मार्ने क्रममा खोलाको गहिरो भागमा पुगेपछि एकाएक पानीको भेलमा फसेर डुबेका थिए। उनीहरूसँगै गएकी राजकुमार राईकी १० वर्षीया छोरी युनिसा राई भने समयमै बाहिर निस्केर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
युनिसाले घट्ना बारे तुरुन्तै गाउँमा जानकारी दिएकी थिइन्, जसपछि स्थानीय अभिभावक र प्रहरी घटनास्थलमा पुगेका थिए। अभिभावक र स्थानीयले तत्कालै तीनै बालिकालाई पानीबाट बाहिर निकाले पनि सबैको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ।
अस्थायी प्रहरी चौकी बैगुन्धुरा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले मृतक बालिकाहरूको शव परीक्षणका लागि बिर्तामोडस्थित मेचाही अस्पताल पठाईएको छ। घटनाको विस्तृत अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ।