पेनड्राईभ र पसलको सामान चोरेको आरोपमा १३ वर्षीय बालकको निर्मम हत्याः २ जना नातेदार पक्राउ

काठमाडौँ– रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ लामाचोकका १३ वर्षीय डिल्ली नाथ सोमबारदेखि बेपत्ता थिए। परिवारले खोजी गर्दा नभेटेपछि प्रहरीले समेत खोजतलास सुरु गरेको थियो। तर मंगलबार बिहान घटनाले डरलाग्दो रूप लियो— डिल्ली खोल्सामा मृत अवस्थामा फेला परे। उनको हत्या भएको खुलासा भएको छ।
बालकको हत्यामा नजिकैका नातेदारको संलग्नता भएको तथ्य प्रहरीले प्रारम्भिक अनुसन्धानमै खुलासा गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर हरिप्रसाद पुनका अनुसार सोमबार बिहान करिब ८ बजे डिल्ली साइकल लिएर घरबाट निस्किएका थिए। बाटोमा उनको आफ्नै गाउँका दुई नातेदारसँग भेट भयो। तीमध्ये १९ वर्षीय एक किशोरले डिल्लीलाई ‘बेलौती (अम्बा) खान जाऔं’ भन्दै खोल्सातिर लगे। तर त्यो ‘बेलौती खाने योजना’ वास्तवमा घातक जाल सावित भयो।
खोल्सामा पुग्नेबित्तिकै किशोरले डिल्लीमाथि चोरीको आरोप लगाउँदै लात्तले प्रहार गरे। आक्रमणबाट ढलेका डिल्लीलाई उनले पेनड्राइभ र पसलबाट सामान चोरेको भन्दै थप आक्रमण गरे। उनले सँगै रहेका अर्का बालकलाई पनि डिल्लीलाई कुट्न उक्साए। तर डरले ति बालक भागे। त्यसपछि १९ वर्षीय किशोरले ढुंगाले आक्रमण गरे र आफूसँगै ल्याएको तरकारी काट्ने चक्कुले अन्धाधुन्ध प्रहार गरे।
हत्या गरेर डिल्लीको शव खोल्सामा फ्याँकि दिए भने घटनालाई ‘साइकल दुर्घटना’ देखाउन उनीहरूको साइकल समेत डाँडोबाट खोल्सामा फ्याँके। तर, सोमबार बिहान साढे १० बजेतिर नै डिल्ली मारिएको प्रहरीले पत्ता लगाएको छ।
शव फेला परेको स्थान साइकलभन्दा ५० मिटर तल खोल्सामा थियो। डिल्लीको निधार र टाउकोमा धारिलो हतियार चक्कुले काटेका गहिरा घाउ छन्। शरीरका विभिन्न भागमा निलडाम भेटिएकोले उनलाई निर्ममतापूर्वक प्रहार गरिएको खुलेको छ।
मंगलबार बिहान स्थानीयले खोल्सामा डिल्लीको साइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसैको आधारमा शव फेला परेको डीएसपी इन्स्पेक्टर पुनले जानकारी दिए। प्रहरीले १३ वर्षीय एक बालक र १९ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा १९ वर्षीय किशोरले आफैले ढुंगा र चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्।
हत्या स्वीकार गर्ने किशोरले आफू १९ वर्ष पुगेको दाबी गरेका छन्। तर, प्रहरीको भनाइमा उनी कानूनी रूपमा अझै नाबालक हुन सक्ने देखिन्छ। प्रहरीले परिवारलाई किटानी जाहेरीका लागि बोलाएको छ। हत्या गरिएका डिल्लीको शव जिल्ला अस्पताल सल्लेमा राखिएको छ।
सामान्य चोरीको आरोपलाई आधार बनाएर बालकको यति निर्मम हत्या हुनु समाजका लागि गम्भीर प्रश्न हो। नातेदारकै संलग्नतामा बालकलाई योजनाबद्ध ढंगले हत्या गरिएको यो घटनाले ग्रामीण समाजमा बालबालिकामाथि बढ्दो हिंसा र असुरक्षाको गहिरो समस्या उजागर गरेको छ।