विकल्प बिना ‘पूँजिवादी व्यवस्थाको बिरोध गरेर भ्रष्टाचारको अन्त्य हुन्छ’ भन्नु जनता ढाट्ने काम मात्रै हो

भ्रष्टाचार पूँजिवादको बिचलन नभइ बल्की उसको नियम नै हो। जुन सामाजिक–आर्थिक ब्यबस्थाको प्रेरक तत्व तथा तर्क नै निजी मुनाफा, निजी सम्पत्ति र निजी संचय हुन्छ। त्यहाँ यो मुनाफा बुर्जुवा संविधान र आचारसंहिताको घेरा भित्र बस्दैन। यसले संबैधानिक प्रावधानहरुलाई यात आफनो अनुकूल प्रयोग गर्छ, यात संविधान माथि प्रहार गर्छ।

पूँजीको शक्तिको अगाडि नतमस्तक हुने कानुन, संस्था र अधिकार पाएका अधिकारी, असमानता र विभेद उत्पादन गर्ने र त्यसलाई नै मलजल गर्ने सामाजिक–आर्थिक संरचनालाई यथावत राखेर भ्रष्टाचारको समुल नष्ट हुन सक्दैन। तसर्थ समग्र पूँजिवादी व्यवस्थाको विकल्प बिनाको बिरोध मात्रै गरेर भ्रष्टाचारको अन्त्य हुन्छ भन्नू भनेको जनतालाई ढाटनु हो, यात मुर्खता हो।

पूँजिवादी ब्यबस्थाले आफ्नो संकटकालमा सधैं निम्न मध्यम बर्गीय आदर्शवाद तथा उच्च मध्यमबर्गीय प्रतिक्रियावादलाई प्रयोग गर्दै आएको छ। पूँजिवादी शासनको विरुद्धको आन्दोलन पूँजिवादी ब्यबस्थाकै विरुद्धमा क्रान्तिकारी बिद्रोहमा रुपान्तरण हुन सक्छ। त्यसलाई रोक्नको लागि पूँजिवादलाई आफ्नो सत्ता सुरक्षित र अझ निरंकुश पार्न आम श्रमजीवी जनता, निम्नमध्यम बर्गीय जनता तथा मुक्तिकामी जनताहरुको जनआक्रोशलाई सुरक्षित अवतरण गराउन, दिशाबिहीन बनाउन त्यसले दक्षिणपन्थी लोकप्रियतावादी नाटकबाजहरुलाई अगाडि सार्छ। र जुमेलीवाजी गराउछ। अनेकौं रूपमा आन्दोलन खडा गर्छ। त्यसले बुर्जुवा बर्ग र त्यसको पक्षमा उभिएको बर्गको अगाडि कठोर नवउदारवादको साथसाथै सफासुघर नवउदारको विकल्प सङसङै लान्छ।

पूँजिवादी ब्यबस्थाको विरुद्धमा होइन कि पूँजिवादी ब्यबस्थाको विभ्रमहरुलाई जोगाइ राख्न र दिर्घजीवी बनाउनका लागि सुशासन एवम् भ्रष्टाचार बिरोधि राजनीतिक एजेण्डालाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्ने तर बिचारधारात्मक रूपमा आफुलाइ कतै उभ्याउन नसक्ने/नउभ्याउने काम नेपालमा पनि दक्षिणपन्थी लोकप्रियतावादीहरुले विभिन्न स्वरुपमा (०७९ को निर्वाचनदेखि) जबर्जस्त रूपमा अगाडि सारेका छन्।

शासक वर्ग र समुहको नग्न भ्रष्टाचार र जातिवादको विरुद्धमा गहिरो असन्तुष्टि बढिरहेको, धनी– गरिब बिचको खाडल बढदै गइरहेको, कृषि क्षेत्रले लागत धान्न नसक्ने, शिक्षा–स्वास्थ्य लगायतका क्षेत्रलाई खुल्ला बजारको जिम्मा लगाएर जनजीवन कष्टकर बनाएको छ। बेरोजगारी, श्रम पलायनता, परनिर्भरता, वैदेशिक ऋण बढदै गइरहेको स्थिति एकातिर छ भने समाजवादको वकालत गर्ने दलहरूले (२०४६ पछिका सरकारले) अन्तर्राष्ट्रिय बित्तिय संस्थासँग गरेको सम्झौता अनुसार आफ्नो अर्थनीति (नवउदारवाद) लाई निरन्तरता दिँदा उत्पन्न संकटको कारणले आज पुराना संसदीय पार्टीहरु प्रति मोहभङ्ग हुँदै गइरहेको छ। पञ्चायती ब्यबस्थाले पनि आफ्नो मरणासन्न अवस्थामा यही नीति अख्तियार गरेको थियो। अर्कोतर्फ क्रान्तीकारी आन्दोलनमा आएको अवस्था, दिशाहीनता, विभाजन÷विगठन र त्यसले बढाएको निराशाले दक्षिणपन्थी लोकप्रियतावादको राजनीतिलाई मलजल गरिरहेको छ।

यसले शहरी उच्च र मध्यमबर्गीयको बिचमा जनाधार निर्माण गर्दै विद्यार्थी, युवा तथा वैदेशिक श्रममा गएकाहरु सहितमा प्रभाव बिस्तार गर्दै समानता, जनवाद र जनताको स्वतन्त्रता बिरोधी गतिविधिहरुलाइ योजनाबद्व रूपमा बढाइरहेको छ।

लोकप्रियतावादको राजनीति गर्नेहरूले पूँजिवादी ब्यबस्थालाई कठघरामा उभ्याउँदैन। बरु, यसले भ्रष्टाचारको मुद्दालाई यस्तो हतियार बनाउछन कि समस्याको मुख्य कारणसम्म पुग्न दिदैन। अन्ततः यसले फाँसीवादी राजनीतिलाई मद्दत गर्न पुग्छ।

यस अर्थमा, नेपालको राजनीतिक यात्र स्पष्ट छ। महान जनयुद्ध, एतिहासिक जनआन्दोलन, मधेस आन्दोलन र त्यसले निर्माण गरेको जगमा प्राप्त संघीयता, समानुपातिक, पहिचानको मुद्दाको विरुद्धमा उभिनेहरु कसरी नयाँ हुन सक्छन? निर्वाचनमा प्रदेश सभाका उम्मेदवारहरुलाई मत नहालेर उनीहरुले संघीयता प्रतिको आफ्नो दृष्टिकोण स्पष्ट पारेको होइन र?

पितृसत्तात्मक राज्यका बारेमा, एकल जातीय बर्चस्वका बारेमा, बर्गिय विभेदका बारेमा मौन रहनुले उनीहरुको नियत स्पष्ट गर्दछ। तसर्थ पूँजिवादी शोषणको आजको हरेक रुपको पहिचान र त्यससँग मुठभेड गर्न सक्ने बिचारको बिकास गर्नु नै आजको सबभन्दा ठुलो कार्यभार हो।

हाम्रो सस्तो श्रम, सस्तो प्राकृतिक सम्पदालाई आफ्नो बजारको बिस्तारको लागि हामी बीचबाटै ठिमाहा (अन्तर्जातिय स्त्रीपुरुषको सम्वन्धबाट जन्मिएको) हरुलाई अन्तर्राष्ट्रिय संस्थाहरुले प्रयोग गर्ने काम गरिरहेको छ। लागुपदार्थ लगायतका अवैध सामाग्रीको सेवन र ब्यापारको साथसाथै बैधानिक ढंगले हस्तक्षेप गर्न सकिने सम्मको गतिविधि बढाउदै लगिन्छ। राज्यका अंगहरुमा कठपुतली मार्फत फाँसिवादलाई लागू गर्न सक्ने मतियारको खोजी गर्ने वा नयाँ रूपमा जेलेन्स्कीको खोजी गर्ने गतिविधि बढाएर पूँजिवादको उपहार गरिबी, बेरोजगारी, असुरक्षा, भोकमरी, पलायनबाट ध्यान अन्यत्र मोडन र पूँजिवाद बिरुद्धको सामाजवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमुलक खेल खेलिरहेको हुन्छ। यो उनीहरुको धर्म हो।

तर, समाजवादीहरुले पूँजिीवादको डर देखाएर चाउचेस्कु बन्ने, निरंकुश राजा भन्दा पनि बढता निरंकुश हुने वा लोकप्रियतावादी भन्दा बढता लोकप्रियतावादी बन्ने चेस्टा गरियो भने त त्यो हरियो घाँस भित्रको हरियो बिसालु सर्प भन्दा पनि खतरनाक हुन पुग्छ। यो छुट कुनै पनि समुहको समाजवादीलाई छैन।

(लेखक संविधान सभाका सदस्य, पूर्व मन्त्रि एवम नेकपा माओवादी केन्द्रका नेता हुन। प्रस्तुत सामग्री लेखकका निजी विचार हुन।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट