एक वर्षअघि बुबा र साता अघि आमा गुमाएका १५ वर्षीय बालकको जीवन कोशीको बाढीले उजाड बनायो

राजविराज — शनिबार साँझदेखि परेको अविरल वर्षासँगै सप्तकोशी नदीमा आएको बाढी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ मा छिर्यो। करिब ४० परिवार बसोबास गर्दै आएको सदा टोलमा बाढिमा चुर्लम्मै डुब्यो। अन्नपात र घरायसी सामान बाढिले बगाएर लग्यो। भएको खाद्यान्न पनि प्रयोग गर्ने अवस्थामा छैन।
अहिले सदा टोलको हरेक परिवार संकटमा छ। १५ वर्षीय शिवनारायण सदाको परिवार पनि बाढीको कहरबाट अछूत रहेन। तर, उनको पीडा अरुको भन्दा फरक र अझै पीडादायी छ। शिवनारायणका बुवा सुरेन्द्र सदाको एक वर्षअघि ३० वर्षको उमेरमा निधन भयो। उनले उपचार नपाएरै ज्यान गुमाए।
‘बुवाको ढाडमा बेलबखत बेसरी दुख्थ्यो, असह्य पीडा हुँदा रुनुहुन्थ्यो। स्वास्थ्य चौकी र स्थानीय अस्पतालमा उपचार गरायौँ। तर, अपेक्षा अनुसार उपचार भएन। डाक्टरले बाहिर लैजान सुझाव दिएका थिए। तर पैसा नभएपछि बुवाको थप उपचार हुन सकेन। त्यसपछि वहाँलाई मृत्युले लग्यो’– आँखाभरी आँशु पार्दै शिवनारायणले भने।
बुबाको निधनपछि आमा विजलीदेवी उनको सहारा वनिन्। आमाछोरा मिलेर ज्याला मजदुरी गर्दै छाक टार्दै आए। तर आमाले पनि उनलाई धेरै समय साथ दिन सकिनन्। दुई महिनाअघि विरामी परेकी उनी त्यही ब्यथाले वितिन। उपचार गराउने सामर्थ्य नभएपछि गत सोमबार २९ वर्षको उमेरमा उनको निधन भयो।
वुबाआमा दुवैले साथ छोडेपछि उनको जिवनको लय नै विग्रियो। सदाहरुको संस्कृति र परम्पारा अनुसार कसैको मृत्यु भएपछि मृतकको नाममा गाउँमा भोज गर्नु पर्छ। गाउँलेलाई वोलाएर एक छाक खुवाउने परम्परा छ। यो परम्परा पनि शिवनारायणको घाउमा नुन छर्किए जस्तै भयो। ‘एकातर्फ लगातार बुबाआमा गुमाउनु परेको पीडा, अर्कोतर्फ ऋण खोजेर भोज गर्नु पर्ने बाँध्यता।’– उनले गुनासो गर।
दिदीभिनाजुले ऋण खोजिदिएपछि उनले आमाको किरियाको चौथो दिन भोज गरे। उनी अहिले पनि पीडामै छन्। जसो–तसो जिवन डो¥याउँदै आएका उनलाई फेरी अर्को विपत्ति थपियो। अविरल वर्षाले जिवन धान्नै नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछन्। बाढीले भएको अन्नपात पनि वगाएपछि उनको कलिलो मानसिक्तामा ठुलो असर परेको छ। उनी जिवनदेखि नै विरक्तिएका छन्।
उनीसहित बाढीले घर डुबाएपछि अधिकांश परिवार अझै भोकभोकै छन्। शिवनारायणले भने, ‘म त समस्यामा छु नै, बाढीपछि यहाँका धेरै परिवारमा चुलो बलेको छैन। भुजा र चाउचाउ खाएर बसिरहेका छन्।’
सामान्य राहतका पोका वाहेक स्थानीय जनप्रतिनिधिहरूको ध्यान अझै पीडित तर्फ पुगेको छैन। बालवच्चा, वृद्धवृद्धा विचल्लीमा छन्। खाद्यान्न, ओछ्यान, भान्सा सामग्री तथा अस्थायी आवासका लागि उनीहरु दाताको पर्खाईमा छन्। यी सामग्री तत्काल उपलब्ध गराउन स्थानीय निकायसँग उनीहरुले माग पनि गरेका छन्।