सुमना श्रेष्ठको चेतावनीः ‘संसद पुनर्स्थापना युवा क्रान्तिको मर्मविपरित’
काठमाडौँ — पूर्व मन्त्री र रास्वपाकी पूर्व नेता सुमना श्रेष्ठले हालको राजनीतिक बहसलाई ‘भाद्र २३ को युवा आन्दोलनको मर्म विपरित’ भनेकी छन्। ताजा जनादेशको माग पूरा गर्न र नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न सम्पूर्ण नेपाली समाज तैयार भइसकेको बेला संसद पुनस्र्थापनाको बहस चलाउनु देशको लोकतान्त्रिक अभ्यास र युवाको क्रान्तिकारी भावना विपरित रहेको उनको भनाइ छ।
सुमना श्रेष्ठले ठूला राजनीतिक दलहरू—विशेषगरी एमाले र काँग्रेस—माथि कडा आरोप लगाइन्। उनका अनुसार, सत्ता र स्वार्थमा डुबेका, जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारी, कायर र आपराधिक नेताहरूले संसद पुनर्स्थापनालाई बहाना बनाएका हुन।
शान्तिपूर्ण निकासको लागि तयार समाजलाई फेरि द्वन्द्वतिर लैजान आफ्ना भातृ संगठनहरूलाई उक्साउनु भनेको ‘प्रतिक्रान्ति’को तयारी हो भन्दै उनले एमाले र काँग्रेसभित्र रहेका निष्ठावान युवाहरूलाई नेतृत्वसँग विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न आह्वान गरेकी छिन्।
सुमना श्रेष्ठको भनाइ अनुसार, कुनै पनि ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वको सामना गर्न सामान्य जनताहरू विभाजन रेखाभन्दा माथि उठेर एकजुट हुनु पर्ने नेपाल र विश्वको इतिहासले प्रमाणित गरेको छ। उनले ‘राजनीतिक दलहरूले देशको साझा शत्रु बन्ने प्रयास नगरेको राम्रो’ भन्दै चेतावनी दिएकी छिन्।
हाल देशमा निर्वाचन वा संसद पुनर्स्थापनाको बहसले राजनीतिक माहौल तताएको छ। भदौ २३ को जेनजी आन्दोलनपछि नयाँ निर्वाचनको घोषणा भईसकेको छ। यस्तो अवस्थामा प्रमुख दलहरू सत्ता निरन्ततातिर केन्द्रित देखिनुले युवा पुस्तामा असन्तोष बढाएको उनको बुझाई छ।
सुमना श्रेष्ठले आफ्नो वक्तव्यमार्फत ‘कुनै पनि षडयन्त्र विरुद्ध लड्न जनता सचेत, सजग र तयार’ रहेको जनाएकी छिन्। लोकतन्त्रको नाममा स्वार्थ र सत्ताको खेल चलाउने नेताहरूले अब चेत्नु पर्ने उनको सन्देश छ।


