थानकोट प्रहरी हिरासतबाट भागेका युवक सप्तरीमा स्कर्पियो चोरी गर्दा गर्दै पक्राउ

राजविराज — जेन–जी आन्दोलनको दिन प्रहरी वृत्त थानकोट, काठमाडौंको हिरासतबाट भागेका एक युवक सप्तरीमा स्कर्पियो चोरी गर्ने क्रममा पक्राउ परेका छन्। सिरहाको विष्णुपुर नगरपालिका–३ का २१ वर्षीय अमन यादवलाई सोमबार बिहान प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार यादवले रुपनी गाउँपालिका–६, विरेन्द्र बजारका स्थानीय विनय भगतको घर अगाडि पार्किङ्ग गरिएको स. १ च ७१३ नम्बरको स्कर्पियो गाडी चोरी गर्ने प्रयास गरेका थिए। बिहान करिब साढे ३ बजे स्कारपिओको झ्याल फुटाएर स्टार्ट गर्न खोज्दा ब्याट्री डाउन भएर समस्या भएको थियो।
त्यसपछि उनले नजिकैको पिकअपबाट ब्याट्री निकालेर जोड्ने क्रममा स्थानीय रजनीश यादवको नजरमा परे। रजनीशले हल्ला गरेपछि अन्य स्थानीयहरू समेतको सहयोगमा अमन र उनका भाई सुमन पक्राउ परेका हुन। पछि उनीहरूलाई इलाका प्रहरी कार्यालय रुपनीमा बुझाइएको थियो।
अमन लागुऔषध (ब्राउन सुगर) कारोबार मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेकै वेला फरार भएको पहिचान भएपछि उनलाई थप कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले बताए।
लागुऔषध ब्राउन सुगर कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेर भागेका यादव फेरी चोरी जस्तो अपराधमा लागेको खुलेको छ। अमनका भाइ सुमन यादवमाथि ‘सार्वजनिक अपराध र चोरी प्रयास’ मुद्दामा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीका एसपी गौतम कुमार केसीले जानकारी दिए।
उनका अनुसार प्रहरी प्रहरीले फरार र पुनःअपराधमा फर्किएका व्यक्तिमाथि विशेष निगरानी गरिरहेको छ। ‘थानकोट हिरासतबाट भागेका अमनजस्ता अपराधी फेरि समाजमा सक्रिय हुन थालेका छन्,’ एसपी केसीले भने, ‘यस्ता व्यक्तिहरूलाई देख्नेबित्तिकै सूचना दिन नागरिकलाई पनि अनुरोध गर्दछु।’