जेन–जी आन्दोलनको भद्दा मजाकः वाख्रा चोर र ठगहरूको हातमा ‘व्यवस्था परिवर्तन’को झण्डा

काठमाडौँ — ‘प्रणाली परिवर्तन’का नारामा उत्रिएका जेन–जी आन्दोलनका नाममा विभिन्न सरकारी कार्यालय घुम्दै कर्मचारीलाई धम्क्याउनेहरू मध्येका एक अगुवा ठगी, चेक बाउन्स र वाख्रा चोरीका अभियुक्त भएको खुलेको छ।

राज्यको संवेदनशील निकायमा पुगेर ‘राजीनामा देऊ, नभए घरैबाट थुत्छौं’ भनी धम्की दिने ती युवाको विगतले आन्दोलनकै नैतिकता र उद्देश्यप्रति गम्भीर प्रश्न खडा गरेको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का २६ वर्षीय अर्जुनबहादुर शाही हाल राजधानीका विभिन्न निकायमा ’जेनजी रिभोलुसन नेपाल’ का उपाध्यक्षको परिचयसहित घुम्दै कर्मचारीलाई थर्काउने काममा सक्रिय छन्।

उनले केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर चर्को हल्ला मच्चाए, अनि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘राजीनामा माग्दै’ डेढ घण्टासम्म कार्यालयमा बसेर हायल–कायल बनाए।

नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीदेखि अख्तियारका प्रमुख आयुक्तसम्म उनीहरूले प्रत्यक्ष दबाब दिने प्रयास गरेका छन्। एउटा भिडिओ फुटेजमा शाहीले टेबल ठोक्दै प्रदिप अधिकारीलाई थर्काउँदै गरेको देखिन्छ। ‘तपाईंले काम गर्न सक्नु भएन। अब यो ठाउँ छाड्नु पर्छ। स्वेच्छिक राजीनामा दिनुस्, गर्न सक्ने मान्छे आउँछ।’

अधिकारीले ‘सरकारले चाह्यो भने म तयार छु’ भनेर शालीन जवाफ दिएका छन्, तर शाही र उनका समर्थकहरू अझै पनि ठाडो आदेशमै अडिन्छन्– ‘गरेर हुँदैन, रिजल्ट चाहियो।’ उनीहरुले जहाज दुर्घटनामा परेको विषयमा पनि अधिकारीलाई र्‍याखर्‍याख्ती पार्छन। अधिकारीले जहाज दुर्घटनाको विषय प्राधिकरणको हैसियतभन्दा बाहिर भएको व्याख्या गर्दा पनि शाही अडिन्छन् — ‘पाइलटलाई दोष दिएर भाग्न खोज्ने ?’

तर, यिनै शाहीमाथि ठगी, चेक बाउन्स र बाख्रा चोरीसम्मका मुद्दा छन्। अछामकै तुलाबहादुर शाहीका तीनवटा बाख्रा चोरीमा समेत उनी संलग्न रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। सोही कारण गाउँमा उनको पहिचान ‘चोर’को छ।

अर्जुन शाहीविरुद्ध काठमाडौंका तीन प्रहरी वृत्त—महाराजगन्ज, बौद्ध र स्वयम्भूमा फरक–फरक चेक बाउन्स र ठगीका मुद्दा दर्ता छन्। महाराजगन्जमा मात्रै उनले १० लाख ३० हजार रुपैयाँको चेक बाउन्स गराएका थिए। त्यसपछि असोज २८ गते २ लाख रुपैयाँको अर्को चेक पनि अस्वीकृत भयो। त्यसैगरी बौद्धमा ७ लाख र स्वयम्भूमा १० लाखको मुद्दा परेको छ।

त्यति मात्र होइन, उनले वैदेशिक रोजगारीको नाममा ८ लाख रुपैयाँ लिएर जापान पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले गत वैशाख २८ गते उनलाई पक्राउ गरेको थियो। वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालका अनुसार, उनले पछि ‘मेलमिलाप गरेर’ रकम अनलाइनमार्फत बुझाएको र जेठ २२ गते छुटेको पुष्टि भएको छ।

तर, प्रहरी स्रोतका अनुसार ती सबै मुद्दा अझै सल्टिएका छैनन्। एक उच्च प्रहरी अधिकारी भन्छन् —‘अहिलेका गृहमन्त्रीले पक्राउ गरेका व्यक्तिलाई छाड्ने आदेश दिएका छन्। हामीले मुद्दा रोक्यौं, तर त्यो सधैंको अन्त्य होइन—फेरि पक्राउ गर्ने दिन आउँछ।’

सुशीलासँग हात मिलाएको फोटो खिचेर पहुँचको दुरुपयोग
शाहीको राजनीतिक पहुँच पनि चर्को देखिन्छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दा उनी शीतलनिवासमा पुगेका थिए। त्यस अवसरमा उनी ‘जेन–जी प्रतिनिधि’का रूपमा सुदन गुरुङसँगै सुशीलाको हात मिलाउँदै गरेको तस्बिर अहिले चर्चामा छ।

उक्त फोटोले उनलाई ‘सत्ता नजिकको मान्छे’ भनेर प्रस्तुत गर्न सजिलो बनाएको देखिन्छ, त्यसपछि उनी अझ निडर भएर कार्यालय–कार्यालय धाउने गरेका छन्। यो विषयमा कतिपय पत्रकारले शाहीसँग प्रश्न गरेका छन्। ति मध्ये सेतोपाटीले शाहीसँग सम्पर्क गर्दा उनले सबै झुटा मुद्दा भएको दावी गरेका छन्। ‘तत्कालीन केपी ओली सरकारले दुईचोटि पक्राउ गरेको थियो। अहिले ममाथि व्यक्तिगत रूपमा आक्रमण भएको छ। गल्ती गरेको छु भने सजाय भोग्न तयार छु।’– उनले भनेका छन्।

उनले ठगीका चेकहरू आफ्ना नभई कम्पनीका भएको, आफू ‘सिर्फ पार्टनर’ भएको दाबी गरे। तर, ती कम्पनीका पार्टनर होमराज खपांगी मगरविरुद्ध पनि मुद्दा दर्ता भएको प्रहरीले पुष्टि भएको छ। यसले जेन–जी आन्दोलन ‘युवा पीढीको आवाज’ भनेर प्रचार गरि पनि आन्दोलनको अगुवाइ गर्नेहरूकै चरित्र प्रश्नको घेरामा परेको छ।

बाख्रा चोरीदेखि वैदेशिक रोजगार ठगी र चेक बाउन्ससम्मका अभियोग खेप्ने व्यक्तिले अहिले ‘व्यवस्था परिवर्तन’का नाममा सरकारी कार्यालय घुम्दै कर्मचारी धम्क्याइरहेका छन्। आन्दोलनको आडमा अपराध लुकाउने यो ‘भद्दा मजाक’ गरिएको भन्दै आलोचना भईरहेको छ।

कडा र आलोचनात्मक शीर्षक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट