जेन–जी आन्दोलनमा ‘आपराधिक गतिविधि’ गर्नेहरू धमाधम पक्राउ पर्दै

काठमाडौँ — भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न केही व्यक्तिहरूको भूमिका प्रहरीले उजागर गरेको छ। ति मध्ये आधा दर्जनभन्दा वढि पक्राउ परेका छन्।
आन्दोलनमा सहभागीहरूलाई तत्काल धरपकड नगर्न गृह मन्त्रालयले ७७ जिल्ला प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि कारबाही सुस्त भएको थियो। त्यस समयमा हिरासतमा रहेका ५८ जना व्यक्तिहरू हाजिर जमानतमा छुटेका थिए।
तर, गृह मन्त्रालय र आयोगबीचको विवादपछि अनुसन्धान र कारबाही प्रक्रिया फेरि सक्रिय भएको छ। ९ असोजमा मन्त्रालयले ‘आयोगको कार्यक्षेत्रमा पर्ने विषयमा तत्काल कारबाही नहोस्’ भनेको थियो। यसपछि आयोगका सदस्य विज्ञानराज शर्माले २१ असोजमा विज्ञप्ति जारी गर्दै फौजदारी कसूरमा संलग्न जोकोहीलाई कारवाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारे।
मन्त्रालय र आयोगको फरक–फरक विज्ञप्ति आएपछि प्रहरी अधिकारीहरूको छलफल पछि आन्दोलनका क्रममा अराजक र उच्छृंखल गतिविधिमा संलग्न भएको आरोपमा राजु परियार, अर्जुनबहादुर शाही, युवराज क्याप्चा, सोनाम तामाङ, र भारतीय नागरिक निरज पोद्दार, लक्ष्मण थामी र सजन तामाङलगायतका ब्यक्तिहरु पक्राउ परेका छन्।
राजु परियारले सर्वोच्च अदालतमा प्रहरीको एसएलआर हतियारसहित देखिएको र ठगी, ज्यान र बैंकिङ कसुरमा मुद्दा चलेको खुलेको छ। अर्जुनबहादुर शाही जेन–जीको नाममा धम्की, वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपी हुन्। युवराज क्याप्चा र सोनाम तामाङले महाराजगन्जमा असई र जवानलाई कुटपिट गरेका थिए भने भारतीय नागरिकहरूले कार्यालय तोडफोड र हतियारसहित प्रदर्शन गरेका थिए।
जेन–जी आन्दोलन भड्काउने मुख्य भूमिका टिब्बटेन ओरिजिनल ब्लड (टीओबी) समूहले खेलेको प्रहरी अनुसन्धानले देखाएको छ। टीओबी ज्याकेट लगाएका बाइक राइडरहरूले आन्दोलनलाई भड्काउने काम गरेका थिए। टीओबीका लिडर तेन्जिङ दावा २३–२४ भदौको आन्दोलनमा सक्रिय थिए। उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। सुरेन्द्र गुरुङ ‘हा किङ’ले फेसबुक पोस्टमार्फत कम्तीमा १५० युवालाई आन्दोलनमा सहभागी भएको स्वीकार गरेका थिए। पछि उनले टीओबीको अर्थ ‘टिब्बटेन ओरिजिनल ब्लड’ नभई ‘द ओरिजिनल ब्रदर्स’ भएको बताएका छन्।
प्रहरी अनुसन्धान अनुसार, टीओबी समूह रेडियो सेटको माध्यमबाट बाइक राइडरहरूलाई निर्देशन दिँदै आन्दोलनमा सक्रिय भएको पाइएको छ। प्रहरीले ३६ हजारभन्दा बढी फोटो र भिडियो संकलन गरेको छ। आन्दोलनमा सहभागीहरूको लोकेसन ट्रयाकिङ, टेलिफोन, एसएमएस र सामाजिक सञ्जालका गतिविधि अध्ययन भइरहेको छ।
२४ भदौको प्रदर्शनमा पनि टीओबी समूहको संलग्नता पुष्टि भएको छ। हालसम्म आगजनी, तोडफोड र लुटपाटका ठोस प्रमाण फेला पर्न सकेका छैनन्। प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूको म्याद थप गरी अनुसन्धान जारी राखेको छ। जेन–जी आन्दोलनका सबै संलग्नहरूको गतिविधि र प्रमाण विश्लेषण भइरहेका छन्।
लोकप्रिय

आफुलाई ‘आधा नेपाली’ भन्ने टीओबी नेता तेन्जिन दावाको जन्मदर्ता शंकास्पदः ‘श्री ५ को सरकार’ र नेपाल सरकारको छाप, शनिबार दर्ता
