राजावादी अधिवक्ता स्वागत नेपालमाथि साइबर ब्युरोमा उजुरी, प्रधानमन्त्रीविरुद्ध बोलेको आरोप

काठमाडौँ— सामाजिक सञ्जालमा सक्रिय राजावादी अधिवक्ता स्वागत नेपालविरुद्ध नेपाल प्रहरीले साइबर अपराधको उजुरी दर्ता गरेको छ। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार नेपालविरुद्ध एक सामान्य उजुरी परेको र प्रारम्भिक सोधपुछका लागि सम्पर्क गरिएको छ।
‘हो, उहाँविरुद्ध एउटा सामान्य उजुरी परेको छ। हाम्रो फिल्ड अफिसरले सोधपुछका लागि फोन गरेका थिए। इमरजेन्सी होइन, तिहारपछि आउँछन् होला।’ अवस्थीले मंगलबार बिहान भने।
यसैबीच, स्वागत नेपालले पनि आफूलाई सोमबार साइबर ब्युरोबाट फोन आएको पुष्टि गरेका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाएपछि प्रहरी सक्रिय भएको आरोप लगाएका छन्।
नेपालले सोमबार बेलुका सार्वजनिक गरेको भिडियो वक्तव्यमा भनेका छन्, ‘के अदालतमा यी प्रश्न उठ्लान् भन्ने डरले हो कि सामाजिक सञ्जालमा बोलेको आधारमा पक्राउ गर्न खोजिँदै छ?’ उनले थपे, ‘यदि आइहाल्नुपर्छ भने आइहाल्छु। जरुरी परे पक्राउ पुर्जी दिनुपर्छ, तर अदालत नै बन्द छ।’
नेपालले आफूलाई तिहार मनाउन दिन पनि आग्रह गरेका छन्। ‘तिहार छ, तिहार मनाउनुहोस् भनेर भन्नुभयो। मैले पनि भनेँ— भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, तर जरुरी भए आउँछु,’ उनले हाँस्यात्मक शैलीमा भनेका छन्।
साइबर ब्युरोले भने उजुरीको विषय र प्रकृति सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धानपछि मात्रै आवश्यक कारबाहीबारे निर्णय हुने जनाइएको छ।