रविलाई हटाएर रास्वपामा बालेनको प्रभाव बढाउने चलखेल, ‘विभीषण’ भुमिकामा कार्की समूह

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पार्टीभित्र चलिरहेको असन्तोष र बाह्य राजनीतिक प्रभाव अब खुला रूपमा सतहमा आउन थालेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सभापति लामिछानेलाई पदच्युत गराउने योजनामा सक्रिय भएको देखिन्छ।

उक्त योजनामा रास्वपाका केही नेताहरू बालेनका ‘विभीषण’ बनेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ। रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीको हालैको टेलिभिजन अन्तरवार्ताले यस विवादलाई झनै बल दिएको छ। अन्तरवार्तामा कार्कीले पार्टीभन्दा बालेनप्रतिको निष्ठा प्रदर्शन गरेपछि उनीमाथि पार्टीभित्र ‘विभीषण’ को आरोप लागेको हो।

संस्थापन पक्षका नेताहरूको भनाइमा, कार्की, असिम साह र तोसिमा कार्की लगायतका नेताहरू बालेनसँग मिलेर पार्टीमा विग्रह ल्याउने रणनीतिमा छन्। रास्वपाका एक पदाधिकारीका अनुसार ‘रविलाई हटाएर कुलमान घिसिङलाई सभापति बनाएपछि मात्र बालेनले रास्वपालाई पूर्ण समर्थन गर्ने प्रस्ताव गरेका छन्। त्यसैका लागि कार्की र उनको समूह सक्रिय छ।’

कार्कीले अन्तरवार्तामा आफूले बालेनलाई जेनजी आन्दोलनको समर्थनमा स्टाटस लेख्न दवाव दिएको र आन्दोलन हिंसात्मक बन्नुमा बालेनको कुनै गल्ती नभएको बताउँदै खुलेआम समर्थन गरेका छन्। आन्दोलनको रणनीतिक तयारीदेखि मन्त्रिपरिषद् सिफारिससम्मका चरणमा उनीहरुको भूमिका रहेको बताईन्छ।

यो अन्तरवार्तापछि रास्वपाभित्र ‘बालेनको प्रभाव र रविको प्रतिरक्षा’बीच स्पष्ट ध्रुवीकरण देखा परेको छ। सभापति लामिछाने निकट समूहले कार्कीमाथि पार्टी कमजोर पार्ने गतिविधिमा संलग्न भएको आरोप लगाएको छ भने कार्कीले सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्दै लेखेका छन् — ‘रामायणमा विभीषण गाली पनि हो, सम्मान पनि। मलाई विभीषण भन्नेलाई आफ्नो स्वामी रावण ठान्न तयार हुनुपर्छ।’

यो स्टाटसपछि पार्टीभित्रको मनोवैज्ञानिक द्वन्द्व खुला संघर्षमा रूपान्तरण हुने संकेत देखिएको छ। एक नेता भन्छन् ‘रवि लामिछानेलाई देखि नसहने पात्रको बचाउ गर्ने र भक्तिभाव प्रवृत्ति रास्वपाका अरू केही नेताले पनि देखाइरहेका छन्। बालेनले पार्टी नखोलेकाले मात्रै उनीहरूले रास्वपा त्याग्न नसकेका हुन्।’

तन रास्वपामा र मन बालेनतिर हुँदा सुमना श्रेष्ठले पार्टी छोडेको उनको दावी छ। श्रेष्ठ पनि बालेन्द्रसँग मिलेर जेनजी आन्दोलनको योजना बनाउनेमा सकृय थिईन। यतिमात्र होईन, आन्दोलनपछि जेनजीको नाममा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा प्रमुख आयुक्तलाई राजिनामा गर्न धम्की दिने युवाहरुको नेतृत्व समेत श्रेष्ठले गरेको खुलासा भई सकेको छ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, रास्वपाको यो आन्तरिक विवाद केवल पार्टी नेतृत्वको प्रश्न मात्र होइन, काठमाडौं महानगरका मेयर बालेन साहले राष्ट्रिय राजनीतिमा आफ्नो पकड विस्तार गर्न खोजिरहेको संकेत हो।

रविलाई हटाउने र बालेन–घिसिङ ध्रुवीकरणबीचको यो शक्ति खेलले रास्वपालाई गम्भीर संकटमा पारेको छ। एकपटक स्वतन्त्र राजनीति र ‘नयाँ पुस्ताको प्रतिनिधि’को रूपमा चर्चित पार्टी अहिले आफ्नै नेताहरूका ‘विभीषण’ गतिविधिले डगमगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट