जिप दुर्घटनामा ८ जनाको मृत्यु, १० जना घाईते

काठमाडौँ— रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा शुक्रबार साँझ भएको भीषण जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदीतर्फ जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप सडकबाट करिब ७ सय मिटर तल खस्दा घटनास्थलमै सात जनाको र उपचारका क्रममा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरू सबै आठबिसकोट क्षेत्रका हुन। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार ज्यान गुमाउनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठबिसकोट–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका छन्।

दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते हुनेमा आठबिसकोट नगरपालिका–२ की १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगीता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र चालक ३४ वर्षीय टोपजङ्ग बुढा छन्।

घाइतेमध्ये जुना बुढालाई गम्भीर चोट लागेकाले नेपालगञ्जस्थित अस्पतालमा रेफर गरिएको छ भने बाँकी नौ जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा क्षमताभन्दा बढी यात्रु थिए र सडक अत्यन्त साँघुरो भएकोले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनामा परेका सबै जना एक कार्यक्रममा सहभागी भएर गाउँ फर्कँदै गर्दा जिप अनियन्त्रित भई खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट