बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’

काठमाडौँ— काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीलाई दोस्रो पटक भेटेर सरकारप्रति असन्तुष्टि प्रकट गरेका छन्। सरकार गठनमा निर्णायक भूमिका खेलेका बालेन्द्रले यस पटक प्रधानमन्त्रीसँग बालुवाटारमा एक्लै भेट गरेका हुन।

उनले प्रधानमन्त्रीसँग गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीबारे गम्भीर असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘गृहमन्त्रीले कानुन देखाएर युवाको अपमान गर्न खोज्नुभयो, तर शहीद हुँदा कुन कानुन हेरिएको थियो?’ बालेन्द्रले सरकारले जेनजी आन्दोलनको म्यान्डेट कार्यान्वयन नगरे अप्रिय परिस्थिति आउन सक्ने चेतावनी पनि दिए।

प्रधानमन्त्री कार्कीले अर्यालकै भूमिकाले आफू प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै गृहमन्त्रीको संयमित भूमिकाको बचाउ गरिन्। तर बालेन्द्रले भने मन्त्रीहरूमा ‘संक्रमण व्यवस्थापन गर्ने हतारो कम’ रहेको भन्दै सरकार सुस्त भएको आरोप लगाए। उनका अनुसार, ‘मन्त्रीहरू सामान्य समयको सोचमा छन्, तर यो सामान्य समय होइन।’

उनले प्रधानमन्त्रीसँग चार बुँदे माग राखेका थिए। उनका मागमा जेनजी आन्दोलनमा दमनको आदेश दिने तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारी, राष्ट्रवादी अभियन्ता दुर्गा प्रसाईको नियन्त्रण, मन्त्रीहरूको सुस्त कार्यशैलीमा सुधार, र गृहमन्त्री ओमप्रकाश अर्यालको बिदाइ समावेश छन्।

प्रधानमन्त्री कार्कीले बालेनका मागहरू सुनेर आन्दोलनको भावना र कानुनी प्रक्रिया दुवै सन्तुलनमा राखिने बताइन्। उनले भनेकी थिइन्, ‘आन्दोलनको भावना सम्बोधन गर्दा कानुन बिर्सन हुँदैन, कानुन हेर्दा युवाको माग बिर्सन हुँदैन।’ कार्कीले ओली–लेखकमाथि कारबाहीका लागि गौरीबहादुर कार्की आयोगले काम गरिरहेको भन्दै त्यसको प्रतिवेदन पर्खन आग्रह गरिन्।

यसैगरी, बालेन्द्रले दुर्गा प्रसाईको गतिविधि नियन्त्रणमा लिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्रीलाई चेतावनीस्वरूप भने, ‘प्रसाई र उनको समूहले आन्दोलनको तयारी गर्दैछ। तर सरकार निष्क्रिय देखिन्छ।’ उनका अनुसार प्रसाईले हालैको सरकारलाई ‘विदेशी इशारामा चलेको’ भन्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्, जसले देशमा पुनः अस्थिरता निम्त्याउन सक्छ।

जवाफमा कार्कीले दुर्गा प्रसाईबारे कानुनी पक्ष स्पष्ट गर्दै भनिन्, ‘बोलेकै आधारमा पहिल्यै गिरफ्तार गर्न कठिनाइ हुन्छ, तर आपत्तिजनक काम भए सरकार पछि पर्देन।’ उनले संयमित तर दृढ सन्देश दिँदै राज्यको प्रतिक्रियालाई कानुनी ढाँचाभित्रै सीमित राख्ने बताइन्।

यो भेटपछि बालेन्द्र साह सरकारभित्र स्वतन्त्र दबाब समूहको रूपमा उदाएका छन्। दुर्गा प्रसाईको नियन्त्रण, गृहमन्त्री अर्यालको भविष्य र मन्त्रीहरूको गति सुधारबारे उनले उठाएका सवालले निकट भविष्यमै राजनीतिक हलचल बढ्ने संकेत दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट