झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
दमक— झापाको शिवसताक्षी नगरपालिका–१०, माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण अहिले पनि गाउँमा त्रास, शोक र अविश्वासको माहौल छ। दुई जना अभियुक्त पक्राउ गरी प्रहरीले घट्नाको प्रारम्भिक अनुशन्धान प्रतिवेदन सार्वजनिक गरिसक्दा पनि सर्वसाधारणामा कौतूहलता हटेको छैन। यो घट्ना आश्चर्यको विषय बनिरहेको छ।
झापा प्रहरीले घटनाको जटिल पृष्ठभूमि, योजनाबद्ध हत्या र अभियुक्तहरूको कर्तुतसहित विस्तृत विवरण सार्वजनिक गरेको छ। सरोजको हत्या गरी जंगलमा शव लुकाएर अभियुक्तहरु परिवारसँग खोजतलासमा हिडेको सम्झँदा अहिले पनि स्थानीयवासी चकित छन्।
प्रहरीका अनुसार मृतक सरोज शर्मा काठमाडौंमा आइटी इन्जिनियरका रूपमा कार्यरत थिए। दसैँ, तिहार र छठ मनाउन उनी आफ्नो जन्मगाउँ झापा आएका थिए। तर, यही भ्रमणले उनको ज्यान लियो। सरोजको हत्या उनका छिमेकी र नातामा पनि पर्ने व्यक्तिहरूले गरेका हुन्। पक्राउ परेकामध्ये २७ वर्षीय सुनील साह र उनका भान्जा २३ वर्षीय राहुल साह मुख्य योजनाकार र हत्यामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
झापाका डिएसपी खगेन्द्र खड्काका अनुसार मृतक शर्माले छिमेकी सुनीलसँग ‘जेनजी आन्दोलनका क्रममा लुटिएको सस्तो सुन पाइने भए आफू पनि किन्न इच्छुक रहेको’ सुनाएका थिए। ‘त्यस्तो सुन पाए आफु पनि किन्ने र अरुलाई पनि किनाउने’ प्रश्ताव गरेपछि सुनील र राहुलले सरोजको अपहरण गरी फिरौती असुल्ने योजना तयार पारे।
‘मृतकसँग पैसा भएको र उनले सुन किन्ने इच्छा देखाएपछि अपहरण गरेर रकम असुल्ने सोच बनाइएको देखिन्छ’ डिएसपी खड्काले भने। यसैक्रममा ९ कात्तिकको साँझ राहुलले सरोजलाई ‘सुन भेटिएको र जंगलमा गाडेर राखेको’ भन्दै हेर्न बोलाए। सुन हेर्न भन्दै उनीहरू अर्जुनधारा–४ स्थित दहीझोडा सामुदायिक वन पुगे। त्यहाँ पुगेपछि अपहरण असहज भएको महसुस गरी सुनील र राहुलले सरोजको टाउकोमा हथौडाले प्रहार गरे।
गहिरो चोट लागेपछि सरोजको घट्नास्थलमै मृत्यु भयो। हत्या पछि शव जंगलमै छोडेर उनीहरू घर फर्किए र नुहाईधुवाई गरी कपडा फेरे। त्यसपछि शव व्यवस्थापनका लागि उनीहरूले कुन्जीबारीका एक भारतीय नागरिकलाई बोलाएर पुनः जंगल पुगे। मृतककै बागमती प्रदेश ०१–०३ च ७१९४ नम्बरको सेन्लटस गाडीमा शव हालेर उनीहरूले हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलामुनि पुर्याएर शव गाडिदिए। मृतकको गाडी उनीहरूले केही दिनसम्म विभिन्न जंगलमा लुकाएर राखे।
यता, घर गाउँमा सरोज वेपत्ता भएको हल्ला चल्न थाल्यो। हत्या गरेको भोलिपल्ट मुख्य योजनाकार सुनील नै सरोजको घर पुगे र परिवारसँग ‘बेपत्ताको खोजी गर्नुपर्छ’ भन्दै सहानुभूति देखाए। सरोज हराएको जानकारी प्रहरीसम्म पुग्यो। त्यसैक्रममा प्रहरीले सुनिललाई नियन्त्रणमा लिएर सोधपुछ पनि गर्यो। तर, प्रमाण नभएपछि उनी त्यति वेला छुटे। यद्यपी प्रहरीले उनलाई निगरानी गरिरहेको थियो।
प्रहरी सकृय भएपछि गाडी भारत पुर्याएर फिरौती माग्ने उनिहरुको योजना असफल भयो। त्यसपछि १३ कात्तिकमा उनीहरूले गाडी मेचीनगर–१३, निचाझोडा सामुदायिक वनमा पुर्याएर जलाए। यही क्रममा योजनाकार सुनीलको हात र अनुसारमा आगोले पोल्यो। चप्पल पनि घटनास्थलमै छुट्यो। यही सानो गल्तीले प्रहरीलाई ठोस प्रमाण हात लाग्यो।
गाडी जलाउँदा अनुहार र हातमा आगोले पोलेपछि उनी हतार–हतारमा राजमार्ग हुँदै सिटी चढेर बिर्ता बजार पुगे र त्यहाँ उपचार गराए। यो प्रमाण पनि प्रहरीले संकलन ग¥यो। अनुहारमा चोट देखिन थालेपछि भारत भाग्ने तयारीमा रहेका सुनील विराटनगरको रानी नाकाबाट पक्राउ परे। कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लियो। अर्का अभियुक्त राहुललाई भने घरबाटै पक्राउ गरियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानका उनीहरूले शव वा गाडी भारत लगी परिवारसँग रकम असुल्ने योजना बनाएका थिए। ‘तर, टाउकोमा गम्भीर चोट लागेका कारण सरोजलाई ज्युँदै भारत पुर्याउने योजना असफल भयो। प्रहरीको सकृयताले शव र गाडी पनि लान सकेनन। त्यसपछि उनीहरूले प्रमाण नष्ट गर्न गाडी नै जलाए।’– डीएसपी खड्काले भने।
प्रहरीले सुनील र राहुलविरुद्ध अपहरण, शरीर बन्धक, आपराधिक उपद्रो र ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत झापाबाट उनीहरूलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शव ब्यवस्थापनमा सहयोग गरेका फरार भारतीय नागरिकको पनि खोजी तीव्र पारिएको डीएसपी खड्काले वताए।
यो पनि,
- झापामा सस्तो सुनको लोभ देखाएर सरोज शर्माको निर्मम हत्याः शव विरिङ खोलामा गाडेर कार जलाइयो, २ जना पक्राउ
- झापा हत्या प्रकरणः सरोज शर्माको योजनाबद्ध हत्या आरोपमा दुई पक्राउ, आरोपीको घरमा तोडफोड, आगजनी प्रयास असफल
- झापामा गाडीसहित बेपत्ता सरोज शर्माको शव बिरिङ खोलामा गाडिएको अवस्थामा फेला, गाडी पनि जलेको अवस्थामा भेटियो
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

