झापामा गाडीसहित बेपत्ता सरोज शर्माको शव बिरिङ खोलामा गाडिएको अवस्थामा फेला, गाडी पनि जलेको अवस्थामा भेटियो

दमक— एक सतादेखि वेपत्ता भएका झापाको शिवसताक्षी नगरपालिका–१० का ३५ वर्षीय सरोज शर्माको शव भेटिएको छ। शनिबार बिहान हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको फेला परेको हो।

दुई दिनअघि मात्र शर्मा सवार ‘सेन्लटस कम्पनी’को बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो। गाडी पूर्ण रूपमा जलेर नष्ट भएको अवस्थामा भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरेको थियो।

यसैक्रममा शर्माको शव भेटिएपछि उनको योजनावद्ध हत्या भएको आशंका अझ प्रष्ट भएको छ। प्रहरीका अनुसार शर्मा कार्तिक ९ गते दिउँसो माइधारस्थित घरबाट ‘गाडी धुने’ भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन बने। परिवारले उनको खोजीका लागि प्रहरीमा जानकारी गराए पनि कतै अत्तोपत्तो थिएन। झन्डै सात दिनपछि मात्र उनको शव गाडिएको अवस्थामा भेटिएको हो।

अनुसन्धानमा संलग्न प्रहरीले बताएअनुसार, शर्मा बेपत्ता भएपछि उनी जिल्लाका विभिन्न बजारमा घुमेको सिसिटिभी फुटेज फेला परेको छ। ती फुटेजमध्ये अन्तिम पटक उनी सुरुङा बजारमा देखिएको बताइएको छ। त्यसपछि भने उनी हराए। सुरुङामा फेला परेको फुटेजकै आधारमा प्रहरी घटनास्थलमा पुगेको हो।

काठमाडौंमा बस्दै आएका शर्मा दशैं मनाउन माइधारस्थित आफ्नै घर आएका थिए। परिवारका अनुसार उनी छठ पर्व मनाएर काठमाडौं फर्कने तयारीमा थिए। तर, अचानक सम्पर्क टुटेपछि घरमा सन्नाटा छाएको छ।

शर्मा सवार गाडी कसले र किन जलायो भन्नेबारे प्रहरीले अझै केही खुलाएको छैन। तर, गाडी जलाइएको र शव गाडिएको स्थानबीचको दूरी र समयान्तरले घटनालाई योजनाबद्ध हत्या ठहर्याउने संकेत दिएको छ।

प्रहरीले घटनास्थल वरपरका साक्षी, सिसिटिभी फुटेज र मोबाइल कल डिटेल विश्लेषण गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका एक अधिकारीका अनुसार, ‘घटना रहस्यमय छ। गाडी जलाउने र शव गाड्ने दुवै कार्य योजनाबद्ध देखिन्छन्। हत्या नै भएको सम्भावना प्रबल छ।’

स्थानीयवासीहरू घटनापछि त्रसित बनेका छन्। उनीहरूका अनुसार बिरिङ खोलाको पुलमुनी शव गाडिएको ठाउँ निकै सुनसान र घना झाडी भएको इलाका हो, जहाँ साँझपछि मानिसहरूको ओहोरदोहोर हुँदैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट