झापा हत्या प्रकरणः सरोज शर्माको योजनाबद्ध हत्या आरोपमा दुई पक्राउ, आरोपीको घरमा तोडफोड, आगजनी प्रयास असफल

दमक — झापाको शिवसताक्षी नगरपालिका–१० (माइधार) निवासी ३५ वर्षीय सरोज शर्माको रहस्यमय हत्या प्रकरण अनुशन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा माइधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साहलाई प्रहरीले पक्राउ गरेको हो। दुवैलाई शुक्रबार साँझ पक्राउ गरिएको हो। स्थानीयका अनुसार उनीहरू दुवैजना लागूऔषध दुव्र्यसनी हुन् र यिनैको समूहले शर्मामाथि योजनाबद्ध हमला गरेको हुनसक्छ।

प्रहरीका अनुसार घटनामा चारदेखि पाँच जना सम्मको संलग्नता देखिएको छ। बाँकी फरार अभियुक्तहरूको खोजी तीव्र गरिएको छ। एक सातादेखि बेपत्ता रहेका शर्माको शव हुलाकी राजमार्गअन्तर्गत बिरिङ खोलाको पुलमुनी गाडिएको अवस्थामा फेला परेपछि घटनाले भय र आक्रोश दुवै सिर्जना गरेको छ।

कार्तिक ९ गते दिउँसो शर्मा माइधारस्थित आफ्नै घरबाट ‘गाडी धुने’ भन्दै ‘सेन्लटस कम्पनी’को बा १–०३०–च ७१९४ नम्बरको गाडी लिएर निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बने। काठमाडौंमा बस्दै आएका शर्मा दशैं मनाउन माइधार आएका थिए र छठ पर्व मनाएर फर्कने तयारीमा थिए।

तर, त्यसको केही दिनमै उनी बेपत्ता बनेपछि परिवारले प्रहरीमा खोजतलासको रिपोर्ट दर्ता गरेको थियो। सात दिनसम्म खोजतलास चल्दा पनि अत्तोपत्तो नलागेपछि अन्ततः शनिबार बिहान बिरिङ खोलाको पुलमुनी कालो प्लास्टिकमा बेरिएको अवस्थामा उनको शव गाडिएको भेटियो।

शर्मा सवार गाडी दुई दिनअघि मात्र चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनमा जलेको अवस्थामा भेटिएको थियो। गाडी पूर्ण रूपमा जलाएर नष्ट गरिएको देखिएपछि प्रहरीले घटनालाई सामान्य बेपत्ता प्रकरण होइन, योजनाबद्ध हत्या हुनसक्ने ठहर गरेको थियो। गाडी जलाइएको स्थान र शव फेला परेको स्थानबीचको दूरी र समयान्तरले पनि अनुसन्धानमा योजनाबद्ध आपराधिक समूहको संलग्नता रहेको आशंका बलियो बनाएको छ।

प्रहरीले घटनास्थल वरपरका साक्षीका बयान लिंदै सिसिटिभी फुटेज र मोबाइल कल डिटेल विश्लेषणमार्फत प्रमाण सङ्कलन गरिरहेको छ। सुरुङा बजारमा फेला परेको अन्तिम सिसिटिभी फुटेजमा शर्मालाई देखिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको पुष्टि भएको प्रहरीले जनाएको छ। त्यसै फुटेजका आधारमा प्रहरी घटनास्थलमा पुगेको थियो। अहिले फरेन्सिक टोलीले जलेको गाडी र घटनास्थलबाट भेटिएका वस्तुहरूको वैज्ञानिक परीक्षण गरिरहेको छ।

शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि लगिएको छ। रिपोर्टले मृत्युको वास्तविक कारण, चोटपटक र समयरेखा स्पष्ट पार्ने अपेक्षा गरिएको छ। प्रहरीका अनुसार शवको अवस्थाले अत्यन्तै निर्मम आक्रमणको संकेत गर्छ।

घटनापछि माइधार र आसपासका बस्तीमा ठूलो आक्रोश फैलिएको छ। हत्या आरोपमा पक्राउ परेका सुनिल साहको घरमा स्थानीय भीडले तोडफोड गरेको र आगजनी गर्न खोज्दा प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा ल्याएको जनाएको छ। प्रहरीले थप हिंसा हुन नदिन ठूलो संख्यामा सुरक्षा बल परिचालन गरेको छ।

प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार, गाडी जलाउने र शव गाड्ने दुवै कार्य अत्यन्त योजनाबद्ध रूपमा गरिएको हो। अनुसन्धान अधिकृतका अनुसार— ‘यो सामान्य हत्या होइन। कसैले निकै सोचविचार र तयारीका साथ अपराध गरेको देखिन्छ। आर्थिक विवाद वा व्यक्तिगत वैमनस्य कारण पनि हुनसक्छ।’
घटनापछि स्थानीयवासीहरूले प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन्। तिनीहरूका अनुसार बिरिङ खोलाको पुलमुनी शव गाडिएको स्थान अत्यन्त सुनसान र झाडीले ढाकिएको इलाका हो, जहाँ साँझपख मानिसको ओहोरदोहोर हुँदैन। त्यस्तो ठाउँमा शव गाडिनु आफैंमा योजनाबद्ध अपराधको सूचक हो।

अहिले माइधारमा शोक र आक्रोश दुवै छ। हत्यारालाई छिट्टै कानूनी दायरामा ल्याउन परिवारको माग गरेको छ। प्रहरीले फरेन्सिक, डिजिटल र मानवीय प्रमाणका आधारमा अनुसन्धान तीव्र पारेको छ र दोषीहरूलाई कानूनी कारबाहीमा ल्याइने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट