बालेन्द्रले पार्टी नेखोल्ने, जेन–जीका एजेन्डा बोकेकालाई समर्थन गर्नेः कुलमान पार्टी दर्ता गर्दै
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कुनै नयाँ राजनीतिक दल गठन नगर्ने र पुरानो दलमा प्रवेश पनि नगर्ने भएका छन्। जेन–जी आन्दोलनले राजनीतिक तहमा ठूलो हलचल ल्याए पनि बालेनले आफ्नो सक्रिय राजनीतिमा कदम चालेको छैन।
उनका नजिकका सहयोगीका अनुसार, बालेन आगामी फागुन २१ गते हुने निर्वाचनमा संविधानको दायराभित्र रही जेन–जी आन्दोलनको एजेन्डा बोकेकालाई समर्थन गर्ने बताएका छन्। बालेनले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखजस्ता संवैधानिक विषयमा स्पष्ट धारणा राखेका छन्।
उनका अनुसार स्थानीय तहलाई सशक्त बनाउनुपर्ने आवश्यकता छ र यदि संसद्ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणालीको पहल गरे, उनले त्यसलाई पनि समर्थन गर्नेछन्।
त्यसैबीच, ऊर्जा, जलस्रोत तथा सिन्चाइमन्त्री कुलमान घिसिङले नयाँ दल दर्ताका लागि आन्तरिक तयारी तीब्र पारेका छन्। घिसिङले रास्वपा छाडेका पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चामा आएका सागर ढकाल लगायतलाई समेटेर नयाँ दल गठन गर्ने तयारी गरेका छन्।
उनको दलको चुनाव चिन्ह ‘बिजुलीको चिम’ हुने सहमति भएको बुझिएको छ। घिसिङको नयाँ दल गठन प्रयास जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिवेशसँग जोडिएको छ। प्रारम्भिक छलफलमा उनले रास्वपा पुनर्गठनको विकल्प खोज्दै नयाँ पार्टीमार्फत आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिन योजना बनाएका हुन्।
यस क्रममा उनी, सुमना र ढकाल प्रायः दैनिक भेटघाटमा देखिएका छन्। राजनीतिक विश्लेषकहरूले बालेनको स्थिर र असंलग्न राजनीतिक कदम र घिसिङको सक्रिय दल गठनलाई वर्तमान राजनीतिक स्थिरता र आगामी निर्वाचन रणनीतिसँग जोडेर हेरिरहेका छन्।
बालेन संविधानको सम्मान गर्दै आन्दोलनको एजेन्डालाई समर्थन गर्ने पक्षमा रहँदा, घिसिङ नयाँ दलको माध्यमबाट आफ्नो राजनीतिक प्रभाव विस्तार गर्ने प्रयासमा छन्। यो परिस्थितिले आगामी निर्वाचनमा नयाँ समीकरण र राजनीतिक गठबन्धनको झलक दिने अपेक्षा गरिएको छ।
लोकप्रिय
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल

