सनरुफ भएको गाडीमा हात हल्लाउँदै नख्खु जेलबाट निस्किएका रविको खुलासाः ‘आत्मरक्षाका लागि त्यसो गरेँ’

काठमाडौँ– भदौ २४ गते नख्खु कारागारबाट सनरुफ भएको गाडीमा हात हल्लाउँदै बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफू जेल तोडेर नभई प्रशासनकै निर्देशनमा असुरक्षाको कारण देखाएर निकालिएको बताएका छन्।

सभापति लामिछानेले जाँचबुझ आयोगसँगको अनौपचारिक बयानमा यस्तो बताएका हुन। आयोगका पदाधिकारीहरूसँगको छलफलमा लामिछानेले आफूलाई ‘जेल तोडेर भागेको व्यक्ति’को रूपमा चित्रण गरिएकोमा आपत्ति जनाउँदै भने, ‘मलाई प्रशासनले नै असुरक्षाको कारण देखाएर निकाल्यो। बाहिर उग्र भीड थियो, आगजनी भइरहेको थियो। त्यस्तो अवस्थामै मलाई आन्दोलनको भीडमा छोडिदियो।’

लामिछानेले थपे, ‘अर्का नेताहरूलाई सुरक्षा निकायले उद्धार गरेर सुरक्षित स्थानमा लगिरहँदा मलाई भने भीडबीच छोडियो। त्यसैले म सनरुफ भएको गाडीमा बसेर बाहिरिएँ। त्यो पनि आत्मरक्षाका लागि।’

आयोगका एक सदस्यले लामिछानेको भनाइ उद्धृत गर्दै भने, ‘औपचारिक भन्दा पनि अनौपचारिक छलफल भएको हो। उहाँले आफैं फर्किएको र आफूलाई प्रहरीले पक्राउ नगरेको बताउनुभयो।’ स्रोतका अनुसार आयोगले लामिछानेलाई सनरुफ भएको गाडीमा हात हल्लाउँदै निस्किएको दृश्यबारे पनि सोधपुछ गरेको थियो।

सोधको जवाफमा उनले भनेका थिए, ‘सुरक्षाका कारणले गाडीको भित्री भागभन्दा माथि देखिन बाध्य भएँ। त्यो दृश्यलाई विवादमा ल्याउने नियत अरूको हो, मेरो होइन।’ रविले कारागार प्रशासनले उनलाई कुनै औपचारिक पत्र नदिई जबर्जस्ती बाहिर निकालेको गुनासो पनि गरेका छन्। उनले भनेका छन्, ‘म पत्र बिना ननिस्किने अडानमा थिएँ। त्यसपछि प्रशासनले एउटा कागज थमाएर त्यसकै भरमा बाहिर निकाले।’

आयोग स्रोतका अनुसार लामिछानेलाई बाहिर निकाल्ने प्रकरणमा संलग्न अधिकारी र दलका नेताहरूको पनि अनुसन्धान भइरहेको छ। गृह प्रशासन, प्रहरी नेतृत्वदेखि रास्वपा नेताहरूसम्मलाई बयानका लागि बोलाउने तयारी भइरहेको छ।

स्रोतले बतायो, ‘रविलाई निकाल्ने क्रममा संलग्न देखिएका पात्रहरूमाथि अनुसन्धान जारी छ। उहाँकी पत्नी निकिता पौडेल, उपसभापति डीपी अर्याल, नेताहरू मनिष झा र हरि ढकाललाई समेत बयानका लागि बोलाउने तयारी भइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट