रवि लामिछानेप्रति महेश बस्नेतको टिप्पणीः रवि प्रधानमन्त्री होईन, जेलको नाइके बन्ने लाईनमा छन्

पोखरा — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले शनिबार पोखरामा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तिखो प्रहार गरे।

पोखरामा आयोजित भेलामा सम्बोधन गर्दै बस्नेतले हालै भाइरल भएको भिडियोको प्रसंग उठाउँदै लामिछानेमाथि ‘अराजक प्रवृत्ति’ भएको आरोप लगाए। ‘रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै तपाईंहरूले भीडीओ देख्नुभएको छ,’ उनले भने, ‘चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर उनले संकेत गरिरहेको भिडियो अहिले भाइरल भइरहेको छ।’

बस्नेतले लामिछानेलाई ‘सहकारी ठग’को संज्ञा दिँदै देशको नेतृत्व होइन, जेलको नेतृत्व गर्न उपयुक्त व्यक्ति भएको टिप्पणी गरे। रविले आफूसँगै १४ हजार कैदीहरूलाई बाहिर निकालेर आफू देशको प्रधानमन्त्री बन्न हिँडेपनि त्यो सम्भव नभएको बस्नेतले दाबी गरे। उनले भने— ‘यस्ता प्रवृत्ति भएका सहकारी ठगहरू देशका प्रधानमन्त्री होइन, जेलका नाइके हुने हुन्। उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ।’

उनले पोखरामा भएको तोडफोड, आक्रमण र क्षतिका लागि समेत लामिछानेलाई जिम्मेवार ठहर गर्दै भने, ‘काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भएको हो, त्यो पनि रविकै कारणले। प्रदेशको संसद् हानियो, अदालतमाथि आक्रमण भयो, यहाँका संरचना ध्वस्त पारिए।’

नेकपा एमाले कास्कीले आयोजना गरेको मोटरसाइकल ¥यालीपछिसम्बोधन गर्दै बस्नेतले आगामी ११औं महाधिवेशनमा केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाएर विदेशी साम्राज्यवादी र दलाल शक्तिलाई ‘एमालेको शक्ति’ देखाउने दाबी गरे। ‘कास्कीमा ल्याएर केपी ओलीलाई विदेशी साम्राज्यवादी र दलालहरूको अगाडि अध्यक्ष बनाएर देखाउने हो,’ उनले भने।

उनले पार्टीभित्र नेतृत्व हतार गर्ने नेताहरूलाई संयम अपनाउन आग्रह गर्दै भने, ‘कतिपय नेताहरू नेतृत्व लिन अघि बढ्नुभएको छ। केही समय होल्ड गर्नुस्, पालो सबैको आउँछ। विस्तारै गए अवश्य पुगिन्छ। हतार गर्नुभयो भने पोखराले बाइबाइ गरेर फेवा ताल घुम्न पठाइदिन्छ।’

बस्नेतले अन्त्यमा पार्टी एकताको सन्देश दिँदै –‘एमालेभित्रको सबै मतभेदलाई अन्त्य गरी एक ढिक्का भएर ओलीको नेतृत्वमा अघि बढ्नुपर्छ। यही बाटो पार्टी र देशको हितमा हुनेछ।’ भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट