सप्तरीको महादेवास्थित कृषि सडक भ्रष्टाचार प्रकरणमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ— सप्तरीको महादेवा गाउँपालिकामा कृषि सडक निर्माण कार्यमा अनियमितता भएको अभियोगमा ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, महादेवा–२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा आर्थिक वर्ष २०७७/७८ मा २३ लाख ५२ हजार ८६९ रुपैयाँ ६६ पैसाको बजेट विनियोजन गरिएको थियो। सम्झौता अनुसार २०७८ जेठ मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि कार्य समयमै सम्पन्न नभएर म्याद थपको निवेदन पेश भए पनि कुनै निर्णय नभएको र भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ।

स्थलगत नापजाँचमा नापी किताबमा उल्लेखित ४३७.४० क्युबिक मिटर कार्य मध्ये केवल २०३.१४ क्युबिक मिटर मात्र सम्पन्न भएको पुष्टि भएको थियो। यसरी २३४.२६ क्युबिक मिटरको कमीका कारण ६ लाख ९० हजार ६५७ रुपैयाँ ५ पैसाको सरकारी क्षति भएको ठहर गरिएको छ।

भ्रष्टाचार मुद्दा दायर भएका व्यक्तिहरूमा कृषि विकास निर्देशनालय धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, कृषि विज्ञ विकास कुमार साह, लेखा अधिकृत चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका–२ का वडाअध्यक्ष जगदीश मण्डल, कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा–२ का हरिनारायण यादव, समिति सचिव गंगाराम यादव, कोषाध्यक्ष सावित्री देवी यादव र किरु इन्जिनियरिङ कन्सल्टेन्टका प्रोपराइटर हरिश कुमार सिंह रहेका छन्।

प्रतिवादीहरूले मिलेमतो गरी वास्तविक कामभन्दा बढी देखाएर भुक्तानी लिएको र यसरी सरकारी निकायलाई नोक्सान पुर्‍याएको आयोगको आरोप छ। विशेष अदालत काठमाडौंमा मंगलबार दायर गरिएको आरोपपत्रमा उनीहरूलाई सो रकम फिर्ता गराउने र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय माग गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट