बलात्कार मुद्दामा सफाइ पाएपछि परस्त्रीसँग अवैद्य सम्बन्धः रहस्य खुल्ने डरले प्रेमीकाको निर्मम हत्या
सिन्धुली– श्रीमान मजदुरीका गर्न भारत हिडेपछि बलात्कार आरोपमा सफाई पाएका अभियुक्तसँग अनैतिक सम्वन्ध राख्दा सिन्धुलीमा एक महिलाको विभत्स हत्या भएको छ। दुधौली नगरपालिका–१३ का ३१ वर्षीय सूर्यबहादुर कामीसँग अवैध सम्बन्धमा रहेकी तीनपाटन गाउँपालिका–२ पैरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा)को हत्या भएको हो।
उनको हत्या एकदमै विभत्स र अमानवीय तरिकाले गरिएको खुलेको छ। कात्तिक १८ गते घरबाट घाँस काट्न हिँडेकी कार्की अचानक बेपत्ता भएकी थिईन। खोजतलासका क्रममा चार दिनपछि तीनपाटन–१ को सिसौघारीमा उनि मृत अवस्थामा फेला परेकी थिइन्।
पोस्टमार्टमका क्रममा कार्कीको घाँटी थिचेर हत्या गरिएको खुलेको छ। हातका सबै औंलाहरू काटिएको, एउटा स्तन विच्छेदन गरिएको र पाठेघर निकालिएको समेत पुष्टि भएको छ। अपराधीले क्रूरता र प्रमाण नष्ट गर्ने उद्देश्यले शरीरका संवेदनशील अंग समेत निकालिदिएको अनुसन्धानकर्ताहरू बताउँछन्।
प्रहरीले दाङबाट समातेर ल्याएका सूर्यबहादुर कामीले हत्या गरेको स्वीकार गरिसकेका छन्। पक्राउपछि उनले आफ्नो भान्जा टंकबहादुर (निरन) कामीको पनि संलग्नता रहेको वयान दिएका छन्। निरनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
घटनामा संलग्न अर्का एक व्यक्ति भने अझै फरार छन् र खोजी कार्य जारी छ। मृतक कार्कीको मोबाइल सूर्यबहादुरले लुकाइराखेको स्थानबाट प्रहरीले बरामद गरेको एसपी लालध्वज सुवेदीले जानकारी दिए।
प्रारम्भिक बयान अनुसार अवैध सम्बन्धका कारण कार्कीको हत्या भएको खुलेको छ। अभियुक्त सूर्य बहादुर कामीको कार्कीसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको र बाहिरिने डरले हत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।
सूर्यबहादुर कामी २०७९ कात्तिकमा १६ वर्षीया किशोरी बलात्कार मुद्दामा पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि थुनामा रहेका बेला जिल्ला अदालत सिन्धुलीले २०८० असार २२ मा सफाइ दिएको थियो। अदालतबाट छुटेको झण्डै दुई वर्षमै उनले कार्कीको हत्या गरेका छन्।
कार्कीका श्रीमान् महेन्द्रबहादुर थापा र उनका सासू–ससुरा भारतमा मजदुरी गर्दै आएका छन्। तीन छोरासँगै घरमा बस्दै आएकी कार्कीको निर्मम हत्याले गाउँमा ठूलो त्रासको वातावरण वनेको छ। प्रहरीले अहिले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर विस्तृत अनुसन्धान गरिरहेको छ।

