सप्तरीमा भीडको न्यायः रुखमा बाँधेर कुटपिट गर्दा १९ वर्षीय मुकेशको ज्यान गयो, परिवार विस्थापित
राजविराज— सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा मोबाइल चोरी गरेको आरोपमा रुखमा बाँधेर कुटपिट गर्दा शुक्रबार १९ वर्षीय मुकेशकुमार यादवको ज्यान गयो। मुकेशको मृत्युपछि उनको घर सुनसान छ, परिवार शोकमा डुबेको छ भने बोरिया गाउँ अपराधबोधको केन्द्र बनेको छ।
मुकेश बुवा देवेन्द्र, भाइहरू १३ वर्षीय मिथिलेश, काका भूपेन्द्रका छोरा १४ वर्षीय रामप्रवेशसँग बोरियामा बस्दै आएका थिए। त्यसैक्रममा बुधबार विहान छिमेकीहरुबाटै कुटपिटमा परेर मुकेशको मृत्यु भएपछि परिवारै विस्थापित भएको छ। उनीहरू आफ्नो पुख्र्यौली गाउँ राजगढ–६ फकिरामा शरण लिन बाध्य भएका छन्। घट्नापछि उनीहरु बोरिया फर्किन सकिरहेका छैनन्।
मोबाइल चोरेको आरोप लगाउँदै स्थानीय ३५ वर्षीया सरोकुमारी साहले मुकेशलाई सडकबाटै समातेर घरतर्फ तानेकी थिइन्। छिमेकी जम्मा पारेर मुकेशलाई आँपको रुखमा बाँधेर घण्टौँसम्म निर्घात कुटाईन। त्यसबेला उनका बुवासमेर घरमा थिएनन्।
मुकेशको साथमा मोबाइल नभेटिएपछि ‘मामाघर लगेर लुकाएको हुन सक्छ’ भन्दै छिमेकीहरुले मुकेशलाई ई–रिक्सामा बाँधेर विष्णुपुर गाउँपालिका–४, कन्कट्टा पुर्याए। त्यहाँ पनि मोवाईल फेला परेन। घरमा एक्लै रहेका ७० वर्षभन्दा माथिका हजुरबुवा वासुदेव यादवले नातिलाई छाडिदिन हारगुहार गरे। तर भीडले नातिहजुरबुबाको विन्ती स्विकार गरेन।
फेरी ई–रिक्सामै बाँधेर मुकेशलाई बोरिया पुर्याईयो। कुटपिट र यातनाका कारण मुकेश बाटोमै अचेत भइसकेका थिए। बुबा देवेन्द्रले भने ‘मुकेशले मोबाइल चोरेकै थिएन, चोरेको भए पनि म तिर्थें, तर उनीहरूले केही सुनेनन्, छोरालाई फलामका रड र लट्ठीले कुटेछन्।’
छिमेकीको हप्की–दप्कीले रातभर मुकेशलाई बाहिर निकालेर अस्पताल पु¥याउन नसकिएको परिवार बताउँछ। भोलिपल्ट ज्वरो आउन थालेपछि मात्रै उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याइयो। त्यहाँ उपचार हुन नसकेपछि नजिकै रहेको निजी अस्पतालको आईसीयूमा सारियो। उपचारकै क्रममा त्यहीँ मुकेशले शुक्रबार अन्तिम सास लिए।
मुकेशको हत्याको खबर सुनेपछि ७० वर्षीया हजुरआमा सुखोदेवी विक्षिप्त छिन। बाटो हिँड्ने जो–कसैलाई ‘मुकेश आयो’ भन्दै सोध्छिन् र रुन थाल्छिन्। काकी पुनितादेवी आँसु पुछ्दै न्यायका लागि हारगुहार गरिरहेकी छिन्। पुनिताकै १० वर्षीय छोरा शिवकुमार किरिया बसेका छन। उनि जन्मजात बोल्न सक्दैनन्।
मुकेशका बुबा देवेन्द्र आफैं पनि शारीरिक रूपमा कमजोर छन, उनको बायाँ खुट्टा चल्दैन। उनी भन्छन—‘कुट्ने पनि छिमेकी नै हुन्, यसरी कुटेर मान्छेलाई मृत अवस्थामा पुर्याउँदा उनिहरुमा एकरति पनि मानवता जागेन।’
प्रहरीले घटनामा संलग्न विष्णुपुर–४ की सरोकुमारी साह, बोरियाका १८ वर्षीय रवीन्द्र ठाकुर र २५ वर्षीय सन्तोषकुमार राउतलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले ‘अपराध अत्यन्त जघन्य रहेकाले अनुसन्धान जारी रहेको’ बताए।

