नोवेलमा एमबीबीएस इन्टर्न डाक्टरको मृत्यु प्रकरणः प्रशासनिक तनाव र मानसिक पीडाले जीवन समाप्त

राजविराज– सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका ३४ वर्षीय डाक्टर अमित यादवले आइतबार विहान विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको पाँचौँ तलाबाट हामफालेर ज्यान गुमाए।

भर्खरै एमबीबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गरिसकेका यादव समाजसेवामा लाग्ने सपना बोकेका उदीयमान चिकित्सक थिए। अमितले अस्पतालमा दुई वर्षको इन्टर्नसीप पूरा गरेका थिए। तर, केही दिनदेखि अस्पताल प्रशासनसँग इन्टर्नसीपका कागजात उपलब्ध नभएको विषयमा विवाद भइरहेको थियो।

प्रशासनले उनको इन्टर्न पूरा नभएको र कागजात नभेटिएको दाबी गरेपछि अमित चरम मानसिक तनावमा रहेका थिए। बाबु शम्भुप्रसाद यादवका अनुसार, छोराको कागजपत्र अस्पतालमा थिएन। प्रशासनले इन्टर्न पूरा नभएको भन्दै दाबी गरिरहेको थियो। त्यही तनावले उसलाई बिरामी बनायो।

अमितको मानसिक पीडा र निराशा अन्ततः ज्यान गुमाउने अवस्था पुगेको देखिएको छ। प्रशासनिक अड्चन र कागजी विवादका कारण छोराले ज्यान गुमाएको शम्भुको भनाई छ। शम्भुप्रसाद र सरिता यादवका कान्छा छोरा हुन अमित। ‘छोरो डाक्टर बनेपछि परिवारको गरिमा बढ्ने र समाजको सेवा हुने आशा थियो। अब त्यो सपना टुट्यो,’ विराटनगरमै रहेका शम्भुले भने।

मानसिक समस्या वढ्दै गएपछि शम्भु छोराको रेखदेखकै लागि शनिवार साँझ विराटनगर पुरेका थिए। नोवेल मेडिकल कलेजको करिव सय मिटर उत्तरमा उनको डेरा थियो। बाबुछोरा राति सँगै सुतै। आईतबार बिहान करिब ४ बजे नै उठेका अमितले बाबुलाई चिया बनाएर दिए र आफु पनि चियाको कप लिएर वरण्डामा निस्किए।

शम्भुप्रसादले सोचे, ‘छोरो निको हुँदैछ।’ यद्यपी, छोरो के गर्दैछ ? भनेर हेर्न उनी वरण्डामै पुगे। तर, वरण्डामा रित्तो कप मात्र थियो, अमित थिएनन्। शम्भुको हंशले ठाउँ छोड्यो। उनि अस्पतालतिर दौडिए। अस्पताल परिसरमा पुग्दा मान्छेको भिडभाड थियो, सँगै रगताम्मे भएर लडिरहेको आफनो छोरो। उनले त्यहीँ सुने–‘एउटा डाक्टरले अस्पतालको पाँचौँ तलाबाट हाम फाले।’

छोराको त्यो अवस्था देखेपछि हारगुहार गरेर तत्काल इमर्जेन्सी कक्षमा पुर्याइयो, तर करिव साढे ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। यस विषयमा प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक विवरणअनुसार, अमितले मनोरोगको औषधी सेवन गरेको पनि पाइएको छ।

यता, अस्पताल प्रशासनले भने इन्टर्न पूरा नभएकाले अमितको कागजात उपलब्ध गराउन नसकिएको जनाएको छ। अमित यादवको यो मृत्यु केवल व्यक्तिगत त्रासदी मात्र नभएर प्रशासनिक जटिलता र मानसिक स्वास्थ्य सम्बन्धी चेतावनीको रूपमा अगाडि आएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट