बालेनसँगै प्रचारमा खटिएका पत्रकार आईसीयूमा मृत्युसँग जुध्दै, स्वास्थ्य अवस्था सार्वजनिक नगर्न रास्वपाको दबाब

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सँगै चुनावी प्रचारमा खटिएका पत्रकार दिनेश सिटौला अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आइसियुमा जीवन–मृत्युबीच संघर्ष गरिरहेका छन्। अछामको दुर्गम भूभागमा अचानक बेहोस भएर ढलेका सिटौलालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर भेन्टिलेटरमा राखिएको छ, तर चिकित्सकहरूले उनको अवस्था ‘अत्यन्तै चिन्ताजनक’ भन्दै सुधारको सम्भावना निकै न्यून रहेको बताएका छन्।

सुदूरपश्चिम भ्रमणका क्रममा अछाम पुगेका सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएका थिए। बाहिरी चोटपटक नदेखिए पनि उनी अचेत अवस्थामा थिए। करिब १५ मिनेटको दूरीमा रहेको अछाम जिल्ला अस्पताल पुर्‍याउँदा उनको श्वासप्रश्वास र मुटुको चाल दुवै बन्द भइसकेको थियो। चिकित्सकहरूले झन्डै ४० मिनेट लगातार सिपिआर गरेर मात्र मुटुको चाल फर्काउन सके। त्यसपछि कृत्रिम श्वास दिँदै सेनाको हेलिकप्टरमार्फत सुर्खेत र त्यहाँबाट हवाइजहाजमा काठमाडौँ ल्याएर दिउँसो ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

ग्राण्डी अस्पताल स्रोतका अनुसार सिटौलालाई ‘सबएक्रानोइड हेमोरेज (एसएएच)’ अर्थात् मस्तिष्कको नसा फुटेर भएको रक्तस्राव भएको छ। चिकित्सकीय भाषामा ‘एन्यूरिज्म’ भनिने नसा फुलेर फुटेपछि यस्तो समस्या देखिन्छ, जसले क्षणभरमै बिरामीलाई बेहोस बनाउँछ र धेरैजसो अवस्थामा अस्पताल पुग्नुअघि नै ज्यान जान सक्छ।

सिटौलाको हकमा पनि मस्तिष्कभित्र क्रमिक रूपमा रक्तस्राव भई अक्सिजन आपूर्ति बन्द हुँदा अवस्था झन् जटिल बनेको चिकित्सकहरू बताउँछन्। सबैभन्दा चिन्ताजनक पक्ष भनेको उनको चेतनास्तर हो। अस्पताल ल्याउँदा नै उनको ‘ग्लास्गो कोमा स्केल (जीसीएस)’ ३ थियो, जुन होसको सबैभन्दा न्यून स्तर मानिन्छ।

सामान्य मानिसको जीसीएस १५ हुन्छ। ८ भन्दा कम भएपछि अवस्था गम्भीर मानिन्छ। तर ३ मा झरेको बिरामीमा सुधारको सम्भावना अत्यन्त न्यून रहने चिकित्सकहरूको स्पष्ट भनाइ छ। ‘४८ देखि ७२ घण्टाभित्र सुधार आयो भने त्यो चमत्कार नै हुन्छ,’ अस्पतालका एक चिकित्सकले बताए।

यस्तो अवस्थामा सामान्यतया ‘क्वाइलिङ’ उपचार विधिमार्फत नसाको भित्री भाग टालेर रक्तस्राव रोक्ने गरिन्छ। तर त्यो उपचार बिरामीमा न्यूनतम चेतना र बाँच्ने सम्भावना देखिएपछि मात्र सम्भव हुन्छ। सिटौलाको अवस्था भने अहिले त्यति स्थिर नभएकाले तत्काल उपचार प्रक्रिया अघि बढाउन नसकिएको चिकित्सकहरूले बताएका छन्। उनी भेन्टिलेटर सपोर्टमा छन्, शरीरले केही प्रतिक्रिया दिए पनि पूर्ण बेहोसीमै छन्।

यसबीच अर्को विवाद पनि चुलिएको छ। अस्पताल प्रशासन र पार्टी नेतृत्व दुवैले स्वास्थ्य अवस्थाबारे औपचारिक जानकारी सार्वजनिक नगरेपछि परिवार असन्तुष्ट देखिएको छ। शनिबार दिनभर परिवारका सदस्यहरूले वास्तविक अवस्था खुलाउन आग्रह गरे पनि स्पष्ट ब्रिफिङ नदिइएको गुनासो गरेका छन्। रास्वपा नेताहरूले ‘स्वास्थ्य गोपनीयता’को कारण भन्दै सार्वजनिक टिप्पणी नगर्न आग्रह गरेका छन्। तर गम्भीर अवस्थामा रहेका पत्रकारबारे सूचनाको अभावले थप अन्योल र चिन्ता बढाएको छ।

चिकित्सकहरूका अनुसार मुटुको चाल बन्द भइसकेको बिरामीमा २४–४८ घण्टाभित्र होस नआए र ७२ घण्टासम्म पनि सुधार नदेखिए मस्तिष्कमा अक्सिजन नपुगेको स्थायी क्षति हुने सम्भावना उच्च हुन्छ। त्यसपछि एमआरआईमार्फत अवस्था मूल्यांकन गरिन्छ। सुधारका संकेत नदेखिए उपचारको प्रभावकारिता अत्यन्त सीमित हुन्छ। सिटौलाको हकमा पनि यही समयसीमा निर्णायक बन्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट