प्रहरी कार्यालयभित्रै ब*लात्कार आरोपः खैरहनीका इन्सपेक्टर महत पक्राउ

चितवन — कानुन कार्यान्वयन गर्ने जिम्मा बोकेको प्रहरी संगठनभित्रैबाट गम्भीर अपराधको आरोप बाहिरिएपछि चितवनमा हलचल मच्चिएको छ। इलाका प्रहरी कार्यालय खैरहनीका इन्सपेक्टर प्रदीप महत बलात्कार आरोपमा पक्राउ परेका छन्।

प्रहरीको वर्दीको आडमा शक्तिको दुरुपयोग भएको दाबी सार्वजनिक भएसँगै प्रहरी संगठनको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३७ वर्षीया एक महिलाले इन्सपेक्टर महतविरुद्ध पटक–पटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोप लगाउँदै २३ गते औपचारिक जाहेरी दर्ता गराएकी थिइन्।

जाहेरी परेसँगै प्रहरी प्रशासनले महतलाई नियन्त्रणमा लिएको र हाल हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको डीएसपी रविन्द्र खनालले जानकारी दिएका छन्। पीडित महिलाको दाबी अझै भयावह छ। उनका अनुसार घटना कुनै सुनसान ठाउँमा होइन, प्रहरी कार्यालयभित्रै भएको थियो। वर्दी, पद र अधिकारको धम्की दिदै कुटपिटसमेत गरेर बलात्कार गरिएको आरोप उनले लगाएकी छन्।

आफू बिरामी रहेको जानकारी गराउँदा पनि मानवीय संवेदनशीलता नदेखाई उल्टै दबाब र हिंसा गरिएको उनको गुनासो छ। सुरक्षा खोज्दै पुगेको कार्यालय नै असुरक्षाको केन्द्र बनेको कथाले स्थानीयवासी मात्र होइन, सिंगो प्रहरी संयन्त्रलाई स्तब्ध बनाएको छ।

यो प्रकरणले एउटा गम्भीर प्रश्न उठाएको छ—नागरिकले न्याय र सुरक्षाका लागि धाउने प्रहरी चौकीभित्रै यस्तो घटना हुन्छ भने सर्वसाधारणले कसलाई विश्वास गर्ने? प्रहरी संगठनभित्र अनुशासन, नैतिकता र आन्तरिक निगरानी कत्तिको प्रभावकारी छ भन्ने बहस फेरि सतहमा आएको छ। ‘सेवा, सुरक्षा र सहयोग’ को नारा दिने निकायभित्रैबाट शक्तिको दुरुपयोग र यौन हिंसाजस्तो जघन्य अपराधको आरोप लाग्नु आफैंमा संस्थागत असफलताको संकेत मानिएको छ।

कानुन कार्यान्वयन गर्ने अधिकारीमाथि नै कानुन उल्लंघनको आरोप लाग्दा त्यसको असर एउटा व्यक्ति वा एउटा कार्यालयमा सीमित रहँदैन। यसले सम्पूर्ण प्रणालीको विश्वसनीयता क्षय गर्छ। विशेष गरी महिला सुरक्षाको सवालमा राज्य संयन्त्रप्रति रहेको न्यूनतम भरोसासमेत कमजोर बनाउँछ। पीडितले साहस गरेर उजुरी दिनु आफैंमा ठूलो कुरा हो, तर अनुसन्धान निष्पक्ष र प्रभावकारी नहुँदा न्याय प्रक्रियामाथि शंका उब्जिन सक्छ।

अहिले महतविरुद्ध अनुसन्धान जारी छ। प्रमाण र प्रक्रियाका आधारमा दोषी ठहरिए कडा कानुनी कारबाही हुनुपर्ने माग स्थानीयस्तरमै उठ्न थालेको छ। वर्दीभित्र लुकेर अपराध गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने सन्देश दिन सकिएन भने यस्ता घटना दोहोरिन समय लाग्दैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट