दुई वर्षदेखि इन्द्रजितको नियन्त्रणमा थियो सिरहा कारागारः पेस्तोलको आडमा प्रशासन बन्धक

काठमाडौँ — जेल भनेको राज्यको नियन्त्रणको सबैभन्दा कडा घेरा मानिन्छ, जहाँ कानुनको शासन बाहेक अरू कसैको आदेश चल्दैन भन्ने विश्वास गरिन्छ। तर सिरहा जिल्ला कारागारमा भएको पछिल्लो घटनाले त्यो मान्यतालाई चकनाचुर बनाइदिएको छ। त्यहाँ कानुन होइन, एक कैदीको ‘शासन’ चलेको खुलासा भएको छ। राज्यका सुरक्षा निकाय बाहिर बसेर होइन, जेलभित्रै हार मानेको दृश्य देखिएको छ।

२५ माघ साँझ करिब ६ बजेतिर आएको सूचनाले प्रहरी अधिकारीहरू नै झस्किए। १० जना कैदीबन्दीलाई आँखामा पट्टी बाँधेर पछाडि हात बाँधिएको थियो। उनीहरूलाई घरेलु हतियारले निर्ममतापूर्वक कुटपिट गरिएको थियो। त्यसपछि कोठाबाट बाहिर निकालेर गेटमा ताल्चा लगाइयो, ताकि उनीहरू भित्र पस्न नपाऊन्। त्यो दृश्य कुनै कारागारको होइन, मानौँ कुनै विद्रोही समूहले बन्धक बनाएको युद्ध क्षेत्रजस्तै थियो।

सूचना जिल्ला प्रहरी कार्यालय पुगेपछि स्थिति सामान्य नभएको स्पष्ट भयो। त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको नन्दा बक्स गण एकैपटक परिचालन गरियो। तीनवटै सुरक्षा निकायको संयुक्त टोली कारागारभित्र छिर्दा देखिएको दृश्यले राज्यकै उपस्थितिमाथि प्रश्न उठायो। १० जना कैदी हात बाँधिएको र आँखामा पट्टी लगाइएको अवस्थामा फेला परे, केही अन्य कैदी नाराबाजी गर्दै थिए। कारागारभित्रै ‘अपहरण र यातना कक्ष’ जस्तो अवस्था थियो।

उद्धार गरिएका कैदीहरूले प्रारम्भिक बयानमै घरेलु हतियारले कुटपिट, धम्की र निरन्तर यातना दिने गरेको बताएका छन्। उनीहरू सबैले बताए अनुसार यो सवै घट्नाको नेतृत्वकर्ता इन्द्रजित यादव हुन। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका इन्द्रजित कारागारको आधिकारिक नाइके होइनन्, तर वास्तविक शक्ति भने उनकै हातमा रहेको सुरक्षा स्रोतहरू बताउँछन्।

भोलिपल्ट २६ माघ सेनाकै सहयोगमा कारागारभित्र सर्च अपरेशन चलाइयो। तालिमप्राप्त कुकुरसमेत प्रयोग गरियो। त्यसक्रममा जिम हलभित्र पुरानो ब्ल्याङ्केटमा लुकाएर राखिएको अवस्थामा पेस्तोल बरामद भयो। सँगै ७.६२ लेखिएको लाइभ दुई राउन्ड गोली र अन्य घरेलु हतियार पनि फेला परे। जेलभित्र पेस्तोल र गोली भेटिनु सामान्य सुरक्षा कमजोरी होइन, यो त कारागार व्यवस्थामाथिको सीधा उपहास हो।

नेपालका कारागारमा कहिलेकाहीँ लागूऔषध, मदिरा, जुवातास भेटिएको समाचार सार्वजनिक हुँदै आएका छन्। तर सिरहामा भने कैदीकै हातमा पेस्तोल पुगेको छ। यसको अर्थ स्पष्ट छ—जेलभित्र अर्को समानान्तर सत्ता चलेको थियो। हतियारको आडमा कैदीले प्रशासनलाई नियन्त्रणमा राख्ने, नाइके बन्ने, आफू अनुकूल नियम बनाउने र नमानेकालाई यातना दिने अवस्था विकसित भएको थियो।

सुरक्षा स्रोतका अनुसार इन्द्रजितले हतियारको आडमा कारागार प्रशासनलाई नै प्रभावमा राख्दै आएका थिए। आफूले भनेको नमाने कैदीहरूलाई कुटपिट गर्ने, धम्क्याउने र दमन गर्ने काम नियमितजस्तै थियो। जेलभित्रै उनी ‘अघोषित डन’ बनेका थिए।

सबैभन्दा गम्भीर प्रश्न भने पेस्तोल कसरी छि¥यो भन्ने हो। आधिकारिक रूपमा अनुसन्धान भइरहेको भनिए पनि कारागार स्रोतले चकित पार्ने तथ्य उजागर गरेको छ—यो पेस्तोल करिब दुई वर्षदेखि कारागारभित्रै रहेको थियो। एक महिना अघि नै प्रहरीले यसको सूचना पाएको रहेछ। तर इन्द्रजितको दबदबा यति बलियो थियो कि अपरेशन चलाउने आँट कसैले गरेन।

एक भारतीय कैदीले प्रहरीलाई गोप्य सूचना दिएको भए पनि ‘भित्र छिर्ने हिम्मत’ कसैले जुटाएन। राज्य संयन्त्र आफैँ डराएको अवस्था देखियो। घटना भएपछि मात्रै सेना बोलाएर अपरेशन गर्नुपरेको यथार्थले देखाउँछ—जेल प्रशासन आफैं असहाय थियो।

प्रारम्भिक विश्लेषणअनुसार चौकीदारमार्फत हतियार भित्रिएको हुनसक्ने आशंका गरिएको छ। राशन किनमेल र मोबाइल प्रयोगको छुटको दुरुपयोग गरेर हतियार ल्याइएको हुन सक्ने अनुमान छ। यदि यो सत्य हो भने यो केवल व्यक्तिगत गल्ती होइन, संगठित लापरबाही र सम्भावित मिलेमतोको संकेत हो।

घटनापछि इन्द्रजितसहित १३ जनालाई नियन्त्रणमा लिएर अन्य कारागारमा सारिएको छ। इन्द्रजितलाई सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल लगिएको छ। अन्यलाई नुवाकोट र रौतहट पठाइएको छ। यातना भोगेका १० कैदीलाई पनि झापा, मोरङ र सुनसरी सारिएको छ।

तर व्यक्ति सारेर समस्या सकिँदैन। किनकि इन्द्रजितको आतंक नयाँ होइन। पछिल्ला वर्षहरूमा कारागारभित्र भएका झडप, कुटपिट, तनाव र आक्रमणका हरेक घटनामा उनको नाम जोडिँदै आएको प्रहरी अधिकारीहरू नै स्वीकार्छन्। ६ वर्षदेखि दोहोरिँदै आएको हिंसा प्रशासनले किन रोक्न सकेन? किन पटक–पटक चेतावनीलाई बेवास्ता गरियो? कसको संरक्षणमा यस्तो ‘छाया शासन’ फस्टायो?

सिरहा कारागारको यो प्रकरणले एउटा भयावह सन्देश दिएको छ—यदि जेलभित्रै राज्य कमजोर हुन्छ भने बाहिर कानुनको शासन कति बलियो होला? कैदीले पेस्तोल बोकेर प्रशासनलाई चुनौती दिने अवस्था आउनु भनेको सुरक्षा संयन्त्रको पूर्ण विफलता हो।

अब यो घटना केवल कारागारभित्रको कुटपिटको कथा होइन। यो राज्यको अधिकार खोसिएको कथा हो। जेलभित्रै अर्को सरकार चलेको प्रमाण हो। र सबैभन्दा ठूलो प्रश्न—यदि राज्यले आफ्नो जेल नै सुरक्षित राख्न सक्दैन भने नागरिकको सुरक्षा कसरी सुनिश्चित गर्छ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट