मौन अवधिमा सिरहा र पर्साबाट दुई उम्मेदवार पक्राउः नगद, मतपत्र र ‘बम’ जस्तो वस्तु बरामद
लहान– मौन अवधिमा नगद रकम, मतपत्र र शंकास्पद वस्तुसहित हिडेको आरोपमा सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जनता समाजवादी पार्टी नेपालका अशेश्वर यादव र पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मनोजकुमार चौधरी पक्राउ परेका छन्।
उनिहरुलाई नगद रकम, मतपत्र र शंकास्पद वस्तुसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नेपाल–भारत सीमावर्ती क्षेत्र माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा गरिएको संयुक्त चेकजाँचका क्रममा रोकेर तलासी लिइएको थियो।
जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार सोही गाडीबाट मतपत्रसमेत फेला परेको दाबी गरिएको छ, जसले घटनालाई अझ गम्भीर बनाएको छ।
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
यसैगरी, पर्सा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मनोजकुमार चौधरी पनि पक्राउ परेका छन्। पर्सागढी नगरपालिका–२ क्षेत्रमा नियमित सुरक्षा चेकजाँचका क्रममा प्रहरीले चौधरी सवार गाडी रोकेर जाँच गर्दा बमजस्तो देखिने शंकास्पद पदार्थ फेला परेपछि उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठकले जानकारी दिएका छन्।
प्रहरीका अनुसार उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीमार्फत निष्क्रिय पारिसकिएको छ। चौधरीसहित गाडीमा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ।
निर्वाचनको संवेदनशील समयमा सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले गस्ती र चेकजाँचलाई थप कडाइ गरेको छ। प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।
चुनावको मौन अवधिमै उम्मेदवारहरू नगद रकम, मतपत्र र शंकास्पद वस्तुसहित पक्राउ पर्ने घटनाले निर्वाचनको निष्पक्षता, सुरक्षा व्यवस्थापन र राजनीतिक प्रतिस्पर्धाको प्रकृतिमाथि गम्भीर प्रश्न उठाएको छ। सुरक्षा निकायले यसलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ भने घटनाले मतदातामाझ पनि व्यापक चर्चा र चासो पैदा गरेको छ।
