सप्तरी कारागारभित्र गाँजा र मोबाइल काण्डः कसरी छिर्यो? महिनौँ बित्दा पनि रहस्य ज्यूँका त्यूँ
राजविराज— माघ २० गते राजविराज कारागार भित्रैबाट प्रतिबन्धित लागूऔषध गाँजा, त्यसको सेवनमा प्रयोग हुने चिलिम र एउटा मोबाइल बरामद भएको घटनाले कारागार सुरक्षा प्रणालीको वास्तविक अवस्था उजागर गर्यो, तर विडम्बना के छ भने महिनौँ बितिसक्दा पनि ती सामग्री कारागारभित्र कसरी प्रवेश गरे भन्ने मूल प्रश्न अझै अनुत्तरित छ।
नियमित चेकजाँचका क्रममा ‘ए ब्लक’को एउटै कोठामा बसिरहेका कैदीबन्दीहरू सुमित मण्डल, सुरज राउत र अभिषेक मण्डलसँग फेला परेको थियो। कैदीबन्दीको साथबाट करिब १० ग्राम गाँजा, चिलिम र मोबाइल भेटिएपछि प्रशासनले तुरुन्तै अनुसन्धान अघि बढाएको थियो, तर त्यसपछि गठन गरिएको छानबिन समितिसमेत कारण पत्ता लगाउन पूर्णतः असफल भएको छ।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृतको नेतृत्वमा कारागार प्रमुख, जिल्ला प्रहरी कार्यालय सप्तरीका असई र प्रशासनकै नायब सुब्बा सम्मिलित समिति गठन गरेको थियो। समितिले लामो समय लगाएर भौतिक अवस्था, सुरक्षा प्रक्रिया र सम्बन्धित पक्षसँग सोधपुछ गरे पनि प्रतिबन्धित सामग्री कसले, कसरी र कुन माध्यमबाट भित्र्यायो भन्ने यथार्थ खुलाउन नसक्दा अनुसन्धानको प्रभावकारितामाथि नै प्रश्न उठेको छ।
सप्तरीका सीडीओ टुवराज पोखरेलले छानबिनका क्रममा कारागारभित्र गम्भीर सुरक्षा कमजोरी र व्यवस्थापकीय त्रुटिहरू रहेको स्वीकार गर्दै ठोस कारण भने अझै पत्ता नलागेको बताएका छन्। उनका अनुसार सम्भावित ‘सेटिङ–साँठगाँठ’को आशंका गर्दै केही कर्मचारी र सुरक्षाकर्मीलाई सरुवाका लागि सिफारिससमेत गरिसकिएको छ, जसले घटनाभित्र आन्तरिक मिलेमतो हुन सक्ने संकेत थप बलियो बनाएको छ।
उनले स्पष्ट रूपमा भनेका छन् कि वास्तविक तथ्य अब प्रहरी अनुसन्धानबाट मात्र बाहिर आउन सक्ने अपेक्षा गरिएको छ। प्रतिवेदनले कारागारको सुरक्षा प्रणाली पुरानो र कमजोर रहेको निष्कर्ष निकाल्दै सीसीटीभी निगरानी विस्तार, स्क्यान मेसिनको प्रयोग, तथा पर्याप्त संख्यामा सुरक्षाकर्मी व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। कारागार विभागसँग यी सिफारिस कार्यान्वयनका लागि आग्रह गरिए पनि सुधारको गति कस्तो रहन्छ भन्ने अझै अनिश्चित छ।
प्रशासनले सुमित र सुरजलाई घटनापछि अन्य कारागारमा सारिएको छ भने अभिषेक भने अझै यहीँ राखिएका छन्। उनीहरू विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय वा थुनामा रहेका व्यक्ति भएकाले घटनाले थप संवेदनशीलता प्राप्त गरेको छ।
यसैबीच, प्रहरी अनुसन्धान पनि निर्णायक मोडमा पुग्न सकेको छैन। बरामद मोबाइलको कल हिस्ट्री विश्लेषण गर्दै स्रोत पहिल्याउने प्रयास जारी रहे पनि अहिलेसम्म कुनै ठोस नतिजा सार्वजनिक भएको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीले अनुसन्धान जारी रहेको औपचारिक प्रतिक्रिया दिए पनि घटनाको जरोसम्म पुग्न अझै समय लाग्ने संकेत दिएका छन्।
समग्र घटनाले कारागार जस्तो उच्च सुरक्षा घेराभित्रै प्रतिबन्धित सामग्री प्रवेश हुनु सामान्य लापरवाही मात्र नभई गम्भीर संरचनागत कमजोरी वा सम्भावित मिलेमतोको परिणाम हुनसक्ने संकेत दिएको छ।
