कोलम्बियामा सैनिक विमान दुर्घटनाः ६६ जनाको मृत्यु
काठमाडौँ — दक्षिण अमेरिकी राष्ट्र कोलम्बियामासैनिक विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। दर्जनौँ घाइते भएका छन्। उडान भरेको केही समयमै वायुसेनाको ढुवानी विमान दुर्घटनाग्रस्त भएको हो।
वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार दुर्घटनामा परेको विमानमा १ सय १४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार थिए। अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित ‘सी–१३० हर्कुलस’ सैन्य ढुवानी विमान नियमित अभियानका क्रममा दक्षिणतर्फ उडेको केही समयपछि नै नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।
बीबीसी हिन्दीको जानकारीअनुसार, पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकैको दुर्गम क्षेत्रमा विमान खसेको हो, जुन पेरु सिमानासँगै जोडिएको क्षेत्र हो। दुर्घटनास्थलमा तत्कालै आपतकालीन उद्धार टोली परिचालन गरिएको भए पनि भौगोलिक कठिनाइका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। घटनास्थलमा आगलागी र त्यसपछिको विस्फोटका कारण भग्नावशेष अत्यन्त क्षतिग्रस्त अवस्थामा रहेको जनाइएको छ।
रक्षामन्त्री पेड्रो सान्चेजले उक्त विमानमा सुरक्षा बलका सैनिकहरू सवार रहेको र उडानकै क्रममा आगलागी भएपछि विमानभित्र भण्डारण गरिएको गोला–बारुद विस्फोट हुँदा स्थिति झन् भयावह बनेको बताए। उनले यो घटनालाई ‘राष्ट्रका लागि अत्यन्त दुखद दिन’ भन्दै गहिरो शोक व्यक्त गरेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूले दुर्घटनापछि देखिएको मानवताको चित्र पनि उजागर गरेका छन्। दुर्गम क्षेत्रमा सडक सुविधा सीमित हुँदा स्थानीय बासिन्दाहरूले घाइते सैनिकहरूलाई साना मोटरसाइकलमार्फत अस्पताल पु¥याएको दृश्य सार्वजनिक भएको छ, जसले संकटको घडीमा नागरिकको सहयोग भावना देखाएको छ।
राष्ट्रपति गुस्ताभो प्योर्टोले सामाजिक सञ्जालमार्फत यो दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो घटना हुन नहुने बताएका छन्। उनले लामो समयदेखि सशस्त्र बलका उपकरण र विमानको आधुनिकीकरणमा देखिएको ढिलाइप्रति ‘नोकरशाही समस्या’ लाई जिम्मेवार ठहर गर्दै सुधारको आवश्यकता औंल्याएका छन्।
