रास्वपाका सांसदको अर्को ‘स्टन्ट’: कार श्रीमतीलाई दिएर साइकलमा संसद् पुगे सांसद गजुरेल

काठमाडौँ— नयाँ संसद् गठनपछिको पहिलो बैठकमा सहभागी हुन देशभरबाट सांसदहरू सिंहदरबार पुगेका बेला एउटा फरक दृश्यले सबैको ध्यान खिच्यो। अधिकांश सांसद निजी कार, ट्याक्सी वा अन्य सवारी साधन प्रयोग गर्दै संसद् भवन पुगेका थिए, तर रास्वपाका सांसद आशिष गजुरेल भने साइकल चढेर संसद् पुगेपछि उनी चर्चामा आएका छन्।

सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित गजुरेलले आफ्नो निजी कार घरमै छाडेर नयाँ साइकल किनी संसद् आएको बताएका छन्। उनका अनुसार २५ हजार रुपैयाँमा किनेको उक्त साइकल नेपाली उत्पादन भएकाले प्रयोग गर्न उत्साह मिलेको हो। उनी पहिले पनि साइकल चलाउने बानी रहेको भन्दै यसपटक संसद् जाँदा त्यसलाई सन्देशका रूपमा प्रयोग गरेको बताउँछन्।

गजुरेलको यो कदमलाई कतिपयले व्यक्तिगत प्रतिबद्धताको रूपमा हेरेका छन् भने कतिपयले यसलाई ‘स्टन्ट’ को रूपमा टिप्पणी गर्न थालेका छन्। किनभने उनीसँग निजी कार हुँदाहुँदै त्यसलाई प्रयोग नगरी श्रीमतीलाई चलाउन दिएको र आफैं साइकल चढेर सार्वजनिक रूपमा देखिनु राजनीतिक सन्देशसँगै छवि निर्माणको प्रयास पनि हुन सक्ने विश्लेषण भइरहेको छ।

उनले भने आफ्नो उद्देश्य स्पष्ट रहेको बताएका छन्। पेट्रोल–डिजेलमा आधारित सवारीको प्रयोग घटाउन र सार्वजनिक यातायातको प्रवद्र्धन गर्न आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको भन्दै अब सडकबाट मात्रै होइन, संसद्भित्रबाट पनि त्यसलाई अघि बढाउने बताएका छन्। साइकल चढेर संसद् पुग्नु त्यही अभियानको निरन्तरता भएको उनको भनाइ छ।

काठमाडौंजस्तो सहरमा साइकल यात्रा पूर्ण रूपमा सुरक्षित नभए पनि सम्भव रहेको उनले अनुभव सुनाए। केही जोखिम भए पनि उचित पूर्वाधार र नीति बने सहज हुने उनको तर्क छ। सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र समयमै हुने बनाइए नागरिक आफैं निजी गाडी छाडेर त्यसतर्फ आकर्षित हुने उनको विश्वास छ।

सार्वजनिक यातायात र वातावरणीय सन्तुलनको बहसबीच गजुरेलको साइकल यात्रा एक प्रतीकात्मक सन्देश बन्ने कि केवल क्षणिक चर्चा, त्यो भने आगामी दिनहरूले देखाउनेछ। किनकी यसअघि ०७२ कात्तिकमा तत्कालिन विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले पनि साईकल अभियान सुरु गरेका थिए।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलसहित सुरक्षाकर्मी समेतले साईकल चढेर अभियान चलाएपनि केही दिनभित्रै त्यसको अन्त्य भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट