मोरङमा लागुऔषध कारोबारी समात्न प्रहरीको गोली चलायो, ब्राउन सुगरसहित युवक पक्राउ
विराटनगर– मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ। भारतबाट लागुऔषध भित्रिँदै गरेको आशंकामा रोक्न खोज्दा मोटरसाइकल चालक भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।
राति करिब सवा ८ बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमाथि शंका लागेपछि प्रहरी टोलीले रोक्ने प्रयास गरेको थियो। तर, प्रहरी देख्नेबित्तिकै चालकले मोटरसाइकल भगाउन खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको एसपी कवित कटवालले जानकारी दिए।
हवाई फायरपछि स्थिति नियन्त्रणमा आएको र मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाइ छ। प्रहरीले रतुवामाई–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको छ। उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको पाँच पोका ब्राउन सुगर बरामद गरिएको छ, जसको तौल प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले मियाँ लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको संकेत गरेको छ।
पक्राउ परेका मियाँलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको छ। उनीमाथि लागुऔषध ऐनअन्तर्गत कडा कारबाहीको तयारी भइरहेको प्रहरीले स्पष्ट पारेको छ।
नेपाल–भारत खुला सीमाको संवेदनशीलताका कारण पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध ओसारपसारका गतिविधि तीव्र बनेका छन्। यसै सन्दर्भमा मोरङ प्रहरीले निगरानी कडा पार्दै ‘लागुऔषध मुक्त मोरङ अभियान’ सञ्चालन गरिरहेको जनाएको छ। प्रहरीले यस्ता अवैध गतिविधिमाथि कुनै पनि हालतमा सम्झौता नगर्ने संकेत दिँदै निगरानी अझ सशक्त बनाउने बताएको छ।
