‘निलो स्कार्फ बाँधेर रोष्ट्रमअगाडि पलेँटी कस्ने अर्यालले हर्क साम्पाङलाई मर्यादा पढाउन सुहाउँछ ?’
काठमाडौँ — संसदभित्र विरोधको शैलीलाई लिएर प्रतिनिधिसभामा नयाँ बहस सुरु भएको छ। आज सभामुखको कुर्सीमा बसेर संसदीय मर्यादा, नियमावली र अनुशासनको पाठ पढाइरहेका डोलप्रसाद अर्याल माथि अहिले उनकै विगतको व्यवहार फर्काएर प्रश्न उठ्न थालेको छ।
किनभने यही संसदमा कहिले निलो स्कार्फ बाँधेर सांकेतिक मोर्चाबन्दी गर्ने, सभामुखको रोष्ट्रमअगाडि पलेँटी कसेर धर्ना दिने र विरोधका नयाँ–नयाँ शैली प्रदर्शन गर्ने पात्रमध्ये एक स्वयं अर्याल थिए। अहिले त्यही व्यक्ति संसदभित्र प्लेकार्ड देखाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईलाई ‘अभद्र व्यवहार’ भन्दै चेतावनी दिन थालेपछि राजनीतिक वृत्तमा दोहोरो मापदण्डको प्रश्न चर्किएको हो।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार तेस्रो दिन पनि प्लेकार्ड प्रदर्शन गर्दै सरकारविरुद्ध विरोध जनाएका थिए। बैठक सुरु हुनेबित्तिकै हर्कराज राईसहित दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विभिन्न माग र नारासहितका प्लेकार्ड देखाउन थाले। उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकार संसदप्रति जवाफदेही नभएको, नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नको जवाफ नदिएको र मन्त्रीहरू सदनप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका थिए।
तर विरोधको यो शैली सभामुख अर्याललाई स्वीकार्य भएन। बैठक सञ्चालनकै क्रममा उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० उल्लेख गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूलाई चेतावनी दिए। ‘हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादाविपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु,’ सभामुख अर्यालले भने।
अर्यालले संसदको मर्यादा कायम गर्नु सबै सांसदको कर्तव्य भएको उल्लेख गर्दै नियम २० को खण्ड (झ) समेत स्मरण गराएका थिए। प्रतिनिधिसभा नियमावलीअनुसार चेतावनीपछि पनि व्यवहार नसच्याइए सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्न सकिने प्रावधान छ। सभामुखको भनाइ स्पष्ट थियो— संसदलाई सडक आन्दोलनको शैलीमा प्रयोग गर्न दिइने छैन।
तर, संसदभित्रै अहिले अर्को प्रश्न उठिरहेको छ— आज मर्यादाको दुहाइ दिने अर्याल स्वयं विगतमा कस्तो शैलीमा प्रस्तुत भएका थिए ? अघिल्लो प्रतिनिधिसभा कार्यकालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका बेला अर्याल र उनका सहकर्मीहरूले संसदभित्र विरोधका असामान्य शैली अपनाएका थिए। कहिले निलो स्कार्फ बाँधेर सांकेतिक प्रतिरोध, कहिले रोष्ट्रमअगाडि पलेँटी कसेर धर्ना, त कहिले संसद अवरुद्ध पार्ने गतिविधिमा उनीहरू सक्रिय देखिएका थिए। त्यतिबेला ती गतिविधिलाई ‘नयाँ राजनीतिक संस्कार’ भनेर व्याख्या गरिएको थियो।
अहिले भने त्यही शैली अपनाउने अर्को दललाई सभामुखको हैसियतबाट मर्यादा सिकाउन थालेपछि प्रश्न उठेको हो— विरोध शैली बदलिएको हो कि कुर्सी बदलिएको ? श्रम संस्कृति पार्टीले भने आफ्नो विरोधलाई जनताको आवाजको प्रतिनिधित्वका रूपमा व्याख्या गरेको छ। दलका नेता हर्कराज राईले मन्त्रीहरूले संसदमा उपस्थित भएर जवाफ नदिएसम्म विरोध जारी रहने बताएका छन्। उनले सरकार संसदप्रति उत्तरदायी बन्न नखोजेको आरोप लगाउँदै संसदभित्रै प्रतिरोध गर्नु आफूहरूको बाध्यता भएको दाबी गरेका छन्।
सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूले पुनः प्लेकार्ड प्रदर्शन गरेका थिए। त्यसले संसदभित्रको तनावलाई थप स्पष्ट बनायो। संसद अब केवल विधेयक पारित गर्ने स्थल मात्र नभई राजनीतिक शक्ति प्रदर्शन र नैतिकताको द्वन्द्वस्थलजस्तै बन्न थालेको देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको विवाद केवल प्लेकार्ड प्रदर्शनको विषय होइन। यो प्रश्न सत्ता र प्रतिपक्षबीचको व्यवहार, संसदीय संस्कारको व्याख्या र राजनीतिक अवसरवादसँग जोडिएको छ। जब प्रतिपक्षमा हुँदा गरिने गतिविधि ‘लोकतान्त्रिक प्रतिरोध’ कहलिन्छ र सत्ताको कुर्सीमा पुगेपछि त्यही गतिविधि ‘अभद्र व्यवहार’ घोषित हुन्छ, तब संसदीय नैतिकतामाथि नै प्रश्न उठ्ने उनीहरूको टिप्पणी छ।
यतिबेला प्रतिनिधिसभाभित्र देखिएको दृश्यले एउटा गम्भीर राजनीतिक सन्देश दिएको छ— नेपालको संसदीय राजनीति अझै पनि सिद्धान्तभन्दा परिस्थितिमा चलिरहेको छ। कुर्सी फेरिएसँगै भाष्य फेरिने प्रवृत्तिले संसदभित्रको बहसलाई अझ तीक्ष्ण बनाएको छ। त्यसैले अहिले संसदभित्र सबैभन्दा धेरै गुञ्जिएको प्रश्न यही बनेको छ— निलो स्कार्फ बाँधेर रोष्ट्रमअगाडि पलेँटी कस्ने अर्यालले हर्क साम्पाङलाई मर्यादा पढाउन वास्तवमै सुहाउँछ ?
लोकप्रिय
ताजा अपडेट
झापामा ४८ घण्टाभित्र दुई महिलाको हत्याः हल्दीबारीमा श्रीमतीमाथि दाउ प्रहार, अर्जुनधारामा मदिरा विवादले लियो ज्यान

