सप्तरी उद्योग वाणिज्य संघका महासचिव अमृत संचेती पक्राउ
राजविराज– सप्तरी उद्योग वाणिज्य संघका महासचिव अमृत संचेती बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनलाई शुक्रबार चेक अनादर सम्बन्धी जाहेरीको आधारमा पक्राउ गरेको हो।
उद्योग–व्यवसायी संगठनको शीर्ष पदमा रहेका व्यक्ति बैंकिङ कसुरमा पक्राउ परेपछि जिल्लाको व्यवसायिक वृत्तमा तरंग पैदा भएको छ। ब्यवसायीहरु स्तब्ध भएका छन्। प्रहरीका अनुसार राजविराज–६ लंकाटोलकी अभिलाषा सिंहले दिएको चेक अनादरसम्बन्धी जाहेरीका आधारमा संचेतीमाथि कारबाही अघि बढाइएको हो।
पक्राउपछि उनलाई बैंकिङ कसुर मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको प्रहरीले जनाएको छ। घट्नाका विषयमा अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा संचेतीमाथि चेक भुक्तानीसम्बन्धी विवाद देखिएको छ, जसलाई बैंकिङ कसुर अन्तर्गत कानुनी प्रक्रियामा लगिएको हो।
घटनापछि सप्तरी उद्योग वाणिज्य संघका कार्यालय सचिव ललित झाले आफूहरूसँग घटनाबारे सामान्य जानकारी रहेको प्रतिक्रिया दिएका छन्। उनले वास्तविक कारणबारे बुझ्न महासचिवसँग प्रत्यक्ष भेटपछि मात्र स्पष्ट धारणा दिन सकिने बताए।
यस घटनाले जिल्लाको व्यवसायिक नेतृत्वमाथि नै प्रश्न उठाएको छ। पछिल्लो समय सप्तरी प्रहरीले विभिन्न व्यवसायी तथा युवाहरूलाई लक्षित गर्दै बैंकिङ कसुर र आर्थिक अनियमिततासम्बन्धी मुद्दामा सक्रियता बढाएको देखिन्छ। यसले व्यवसायिक क्षेत्रभित्र कानुनी अनुशासन र आर्थिक कारोबारको पारदर्शिताबारे बहस पनि तीव्र बनाएको छ।

