रणभूमि बन्यो सिरहामा रास्वपाको अधिवेशनः सांसद हस्तक्षेपको आरोपदेखि कुटाकुटसम्म

लहान– पुराना दललाई गुटवाद, हस्तक्षेप र शक्ति केन्द्रित राजनीतिको आरोप लगाउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै जिल्ला अधिवेशनमा त्यही रोगको शिकार बनेको छ। सिरहाको प्रथम जिल्ला अधिवेशन नेतृत्व चयनको विवादले यस्तो मोड लियो कि सभापति चयनको बहस अन्ततः कुटाकुटमा परिणत भयो।

सांसदहरूको हस्तक्षेप, सर्वसम्मतिको दबाब, शक्ति केन्द्र कब्जाको आरोप र नेतृत्वको रस्साकस्सीबीच अधिवेशनस्थल नै तनावग्रस्त बनेपछि निर्वाचन प्रक्रिया स्थगित गर्नुपरेको छ। सोमबार जिरोमाइलस्थित अधिवेशनस्थलमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा ¥यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापासहित केही व्यक्ति घाइते भए। स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले हस्तक्षेप गर्दै नेतृत्व चयन प्रक्रिया मंगलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरेको छ।

यो विवाद केवल नेतृत्वको प्रतिस्पर्धामा सीमित छैन। विवादको केन्द्रमा पार्टीभित्र प्रभावशाली नेताहरूको भूमिका, सांसदहरूको हस्तक्षेप र जिल्ला संगठनमाथि नियन्त्रणको संघर्ष देखिएको छ। सभापति पदका लागि वर्तमान सभापति हरिप्रसाद मैनाली, सुभाषकुमार यादव र रामसौगारथ यादव प्रतिस्पर्धामा छन्। तर निर्वाचनको तयारी चलिरहेकै बेला रामसौगारथ यादवलाई सर्वसम्मत रूपमा सभापति बनाउन केही सांसदहरूले दबाब दिएको आरोप सार्वजनिक भएपछि विवाद चर्किएको थियो।

पूर्वसभापति तथा सभापतिका उम्मेदवार मैनालीका अनुसार सिरहाका केही प्रतिनिधिसभा तथा समानुपातिक सांसदहरूले अन्य उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै रामसौगारथ यादवको पक्षमा वातावरण बनाउन खोजेका थिए। उनले त्यसका लागि हस्ताक्षरसहितको पत्रसमेत निर्वाचन आयोगमा पठाइएको दाबी गरेका छन्।

मैनालीले समानुपातिक सांसद पुरुषोत्तम यादवको अगुवाइमा यस्तो प्रयास भएको आरोप लगाएका छन्। उनले मधेश प्रदेश सभापति तपेश्वर यादव, सांसद पुरुषोत्तम यादव र सभापतिका आकांक्षी रामसौगारथ यादव सबै नरहा गाउँपालिकासँग सम्बन्धित रहेको उल्लेख गर्दै पार्टीको शक्ति केन्द्र नरहामा केन्द्रित गर्न खोजिएको आरोपसमेत लगाए।

अर्का उम्मेदवार शम्भु यादवले पनि सांसदहरूको भूमिकामाथि प्रश्न उठाएका छन्। उनका अनुसार दिनभर सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा प्रवेश गरिसकिएको अवस्थामा कुनै एक उम्मेदवारको पक्षमा सांसदहरूले सिफारिसपत्र बोकेर निर्वाचन आयोग पुग्नु लोकतान्त्रिक अभ्यासविपरीत थियो।

उनले उम्मेदवार रामसौगारथ यादव स्वयं सांसदहरूको समर्थन रहेको भनिएको पत्र लिएर निर्वाचन आयोग पुगेपछि आफूहरूले विरोध जनाएको बताए। यद्यपि निर्वाचन आयोगका पदाधिकारीहरूले भने त्यस्तो कुनै पत्र आफूहरूलाई औपचारिक रूपमा प्राप्त नभएको बताएका छन्। आयोगका अनुसार उक्त विषयमा केन्द्रसँग परामर्श भइरहेको थियो र अन्तिम निर्णय केन्द्रकै निर्देशनअनुसार हुने तयारी भइरहेको बेला विवाद थप उग्र बनेको थियो।

विवादले अन्ततः भौतिक झडपको रूप लिएपछि अधिवेशनको वातावरण नै बिग्रिएको हो। नेतृत्व चयनलाई लिएर लामो समयदेखि चलिरहेको असन्तुष्टि सोमबार सतहमा विस्फोट भएको सहभागीहरूको भनाइ छ। पार्टीभित्रको एक पक्षले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने अडान राख्दै आएको थियो भने अर्को पक्षले सर्वसम्मतिको नाममा निश्चित उम्मेदवारलाई नेतृत्वमा पु¥याउने प्रयास भइरहेको आरोप लगाउँदै आएको थियो। यही अविश्वास अन्ततः झडपको कारण बनेको देखिन्छ।

घटनापछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले विज्ञप्ति जारी गर्दै मंगलबार बिहानदेखि पुनः निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिएका छन्। सभापति पदमा तीनजनाबीच प्रतिस्पर्धा कायम रहँदा उपसभापति पदमा ई. अरविन्दकुमार राम, जीवछ यादव, निमाकुमारी यादव र गीता शाही उम्मेदवार छन्। सचिव पदका लागि रमेशकुमार यादव, राजेन्द्र मण्डल, परितोषकुमार यादव र अमितराज राई चुनावी मैदानमा छन्।

सिरहाको घटनाले रास्वपाभित्र जिल्ला अधिवेशनहरू केवल संगठन निर्माणको प्रक्रिया नभई प्रभाव, पहुँच र शक्ति सन्तुलनको संघर्षमा रूपान्तरण हुँदै गएको संकेत दिएको छ। केही दिनअघि उदयपुर अधिवेशनमा आफ्नै सांसदविरुद्ध ‘दलाल माननीय मुर्दावाद’ को नारा लागेको थियो भने सप्तरीमा पनि प्रभावशाली नेताका आफन्त र स्थानीय चुनाव केन्द्रित रणनीतिबारे प्रश्न उठिरहेका छन्।

यही श्रृंखलाको पछिल्लो कडी बनेको सिरहा अधिवेशनले एउटा गम्भीर प्रश्न खडा गरेको छ—पुराना दलमाथि हस्तक्षेप, गुटबन्दी र शक्ति केन्द्रित राजनीतिको आरोप लगाउने रास्वपा आफ्नै जिल्ला अधिवेशनमा किन त्यही आरोपको घेरामा परिरहेको छ ?

सिरहामा अब नेतृत्व कसले जित्छ भन्नेभन्दा पनि पार्टीभित्र नेतृत्व कसरी तय हुन्छ भन्ने प्रश्न बढी महत्वपूर्ण बनेको छ। रास्वपाको जिल्ला अधिवेशन अब संगठन विस्तारको कार्यक्रमभन्दा बढी पार्टीभित्रको शक्ति संघर्षको ऐना बन्न पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट