झापामा हात्तीको आक्रमणमा ६२ वर्षीया वृद्धाको मृत्युः घरको आँगनमै गयो ज्यान
दमक– झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। बिहान घरबाट बाहिर निस्किएकी एक महिलामाथि अचानक हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो।
मेचीनगर नगरपालिका–४ वडा कार्यालय अगाडि बसोबास गर्दै आएकी ६२ वर्षीया पद्मा पौडेलको आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। प्रहरीका अनुसार पौडेल घरबाट बाहिर निस्कने क्रममा अचानक गाउँ पसेको हात्तीको सामना भएको थियो।
हात्तीले आक्रमण गरी कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले अनुशन्धान गरिरहेको छ।
प्रहरीले मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाउने तयारी गरेको छ। स्थानीयका अनुसार पछिल्लो एक सातायता भारततर्फबाट मेची नदी क्षेत्र हुँदै करिब एक सयको हाराहारीमा जंगली हात्ती नेपाल प्रवेश गरेका छन्। हात्तीको ठूलो समूह सीमावर्ती क्षेत्रमा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
विशेषगरी बाहुनडाँगी, मेचीनगर र आसपासका क्षेत्रमा विगतदेखि नै मानव–हात्ती द्वन्द्व चुनौतीका रूपमा रहँदै आएको छ। बाली नष्ट गर्ने, घरमा क्षति पुर्याउने र आक्रमण गर्ने घटनाहरू दोहोरिरहे पनि दीर्घकालीन समाधान अझै खोजिएको छैन।
