सिरहामा हेरोइन कारोबारी पक्राउ गर्न प्रहरीको गोली चलायो, भारतीय नागरिकसहित तीन जना पक्राउ

लहान— लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सिरहामा एक भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिबाट कटुवा पेस्तोल, गोली तथा ठूलो परिमाणमा हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाका ३५ वर्षीय अब्दुल कलामलाई नियन्त्रणमा लिन खुट्टामा गोली प्रहार गरिएको हो। प्रहरीका अनुसार उनको साथबाट कटुवा पेस्तोल, दुई राउण्ड गोली तथा ११५ ग्राम हेरोइन बरामद गरिएको छ।

ब्यूरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले कलामसहित ४–५ जनाको समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको बताए। प्रहरीको दाबीअनुसार परिस्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर एक राउण्ड गोली प्रहार गरिएको थियो।

गोली लागेपछि कलामलाई नियन्त्रणमा लिइएको र उनको उपचार तथा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। यसैबीच सिरहामै भएको अर्को कारबाहीमा प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असार १८ गते राति करिब ११ बजे लहान नगरपालिका–१२ जटियाही टोलमा लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले छापा मारेको थियो।

प्रहरीले स्थानीय २७ वर्षीय विजयकुमार सदायको घरमा खानतलासी गर्दा साना कालो प्लास्टिकका टुक्रामा लुकाएर राखिएको २.४ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीको भनाइ छ। खैरो हेरोईनसहित विजयकुमार सदाय र सोही स्थानका २७ वर्षीय वृजेश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी रमेशबहादुर पालले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट