उदयपुरमा करेन्ट लागेर विद्युत कर्मचारीकै मृत्यु, तार जोड्ने क्रममा ४ मिटर तल खसे

गाईघाट– उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा विद्युत लाइनमा काम गरिरहेका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।

मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लागेपछि पोलबाट खसेका प्राधिकरणका कर्मचारी मिलन राईको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार असार २४ गते बिहान करिब साढे १० रामपुर नगर अस्पताल नजिक रहेको विद्युत पोलमा चढेर काम गरिरहेका करिब ४० वर्षीय राईलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी करिब ४ मिटर माथिबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए।

राई नेपाल विद्युत प्राधिकरणको रामपुर क्षेत्रमा कार्यरत कर्मचारी हुन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। राईलाई तत्काल रामपुर नगर अस्पताल पु¥याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

नोबेल अस्पतालमा उपचारकै क्रममा मंगलबार दिउँसो करिव १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उपचारका सबै प्रयास असफल भएपछि उनको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ। प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक विवरण संकलन गरेको जनाएको छ।

प्रारम्भिक रूपमा विद्युत पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा दुर्घटना भएको देखिए पनि करेन्ट लाग्नुको वास्तविक कारण र सुरक्षा प्रबन्धको अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारी कार्यक्षेत्रमै दुर्घटनामा परेर मृत्यु भएपछि घटनाले विद्युत लाइन मर्मत तथा जडानका क्रममा अपनाइने सुरक्षा मापदण्डबारे पनि प्रश्न उठाएको छ। यद्यपि दुर्घटनाको विस्तृत कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट