प्रधानमन्त्रीलाई गाली गरेपछि जेल पुगे पाँचथरका युट्युबर पोखरेल
विराटनगर– प्रधानमन्त्री बालेन्द्र साह र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक तथा अमर्यादित सामग्री प्रसारण गरेको आरोप लागेका युट्युबर रोशन पोखरेललाई पाँचथर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
साइबर अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै अदालतले उपलब्ध डिजिटल प्रमाण र प्रारम्भिक तथ्यका आधारमा उनलाई थुनामै राखेर अनुसन्धान तथा न्यायिक प्रक्रिया अघि बढाउन आदेश दिएको हो। जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी सरस्वती नेम्वाङले जानकारी दिइन्।
पोखरेलविरुद्ध सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री तथा उनको परिवारको मान–प्रतिष्ठामा असर पुग्ने गरी सामग्री प्रसारण गरेको आरोपमा साइबर अपराधको मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार पोखरेल गत चैत २६ गते पक्राउ परेका थिए। पक्राउपछि अनुसन्धान सम्पन्न गरी केही दिनअघि उनीविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरिएको थियो।
अदालतमा पेस गरिएको अनुसन्धान प्रतिवेदनअनुसार पोखरेलले ‘हदेस जङ्गल’ नामक फेसबुक, टिकटक र इन्स्टाग्राम खातामार्फत प्रधानमन्त्री र उनको परिवारलाई लक्षित गरी विभिन्न भिडियो, स्ट्याटस तथा अमर्यादित अभिव्यक्ति सार्वजनिक गरेका थिए। ती सामग्रीले सम्बन्धित व्यक्तिहरूको मान–सम्मान र प्रतिष्ठामा आँच पुग्ने प्रकृतिको रहेको दाबी अभियोजन पक्षको छ।
सुनुवाइका क्रममा सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरू आफ्नै खाताबाट सार्वजनिक भएको तथ्य पोखरेलले बयानमा स्वीकार गरेको अदालत स्रोतले जनाएको छ। उनले आफूले कसैलाई हानि पु¥याउने उद्देश्य नराखेको तर सामाजिक सञ्जालमा ‘लाइक’, ‘कमेन्ट’ र ‘भ्युज’ बढाउने उद्देश्यले त्यस्ता सामग्री पोस्ट गरेको बयान दिएका थिए।
अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको मोबाइल फोन, सिम कार्ड, पिन कार्ड तथा पेन ड्राइभ बरामद गरी अदालतमा प्रमाणका रूपमा पेस गरेको थियो। ती डिजिटल सामग्री र सामाजिक सञ्जालमा सार्वजनिक भएका पोस्टहरूलाई समेत अदालतले प्रारम्भिक प्रमाणका रूपमा ग्रहण गरेको जनाएको छ।
अदालतले आदेशमा उपलब्ध डिजिटल प्रमाण, सामाजिक सञ्जालका सामग्री तथा घटना सम्बन्धमा बयान दिएका व्यक्तिहरूको भनाइका आधारमा हालको अवस्थामा अभियुक्तलाई निर्दोष भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ। त्यसैले मुद्दाको थप सुनुवाइ र परीक्षण प्रक्रियासम्म उनलाई थुनामै राख्न आवश्यक देखिएको अदालतको निष्कर्ष छ।
अदालतको आदेशअनुसार पोखरेललाई असार १८ गते नै कारागार चलान गरिएको छ। मुद्दाको थप सुनुवाइ र अन्तिम फैसला भने अदालतको आगामी प्रक्रियाबाट टुंगो लाग्नेछ।

