शिक्षा अधिकृतमाथि बाटोमै कालोमोसो र बोतल प्रहार, वडा सदस्य फरार
काठमाडौँ— दाङको घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य लेखनाथ बुढाथोकीले सोही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि सार्वजनिक रूपमा कालोमोसो दल्दै बोतलले प्रहार गरेको घटनाले स्थानीय तहमा तरंग सिर्जना गरेको छ।
विद्यालय व्यवस्थापन समिति निर्वाचनको विवादका बीच बाटोमा मोटरसाइकल चढेर गइरहेका शिक्षा अधिकृत बोहोरालाई रोकेर दुव्र्यवहार गरिएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहोराको टाउकोमा कालोमोसो खन्याएको र त्यसपछि बोतलले समेत प्रहार गरेको देखिन्छ। घटनापछि शिक्षा प्रशासन, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि हुने व्यवहारबारे प्रश्न उठेको छ।
प्रहरीका अनुसार घटना घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) निर्वाचनलाई लिएर उत्पन्न विवादसँग जोडिएको छ। वडा सदस्य बुढाथोकीले निर्वाचन प्रक्रिया कानुनविपरीत ढंगले अघि बढाइएको आरोप लगाउँदै आएका थिए।
उनको दाबीअनुसार विद्यालय व्यवस्थापन समिति निर्वाचनअघि अभिभावकहरूको गणपूरक संख्या पुगेको भेलाबाट निर्णय हुनुपर्छ। गणपूरक संख्या नपुगेमा तीन पटकसम्म अभिभावक भेला आह्वान गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि विद्यालयले उक्त प्रक्रिया पूरा नगरी निर्वाचन अघि बढाएको र शिक्षा अधिकृत बोहोराले त्यसलाई स्वीकृति दिएको आरोप उनले लगाएका छन्।
यता, शिक्षा अधिकृत बोहोरामाथि भएको दुव्र्यवहारलाई लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठका अनुसार घटनालगत्तै वडा सदस्य बुढाथोकी फरार भएका छन्।
एसपी श्रेष्ठले घटनामा संलग्न व्यक्तिको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। शिक्षा अधिकृत बोहोराले भने आफू सार्वजनिक जिम्मेवारी निर्वाह गरिरहेका बेला आफूमाथि आक्रमण र दुव्र्यवहार भएको भन्दै कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि घटनापछि उनको औपचारिक सार्वजनिक प्रतिक्रिया भने आएको छैन।
स्थानीय तहको शिक्षा प्रशासनसँग प्रत्यक्ष सम्बन्धित विषयमा उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि विद्यालय व्यवस्थापन समिति निर्वाचन प्रक्रिया, जनप्रतिनिधिको भूमिका तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको सुरक्षाबारे समेत बहस सुरु भएको छ।
प्रहरीले घटनाको भिडियो, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। विद्यालय व्यवस्थापन समिति निर्वाचन प्रक्रियासम्बन्धी विवादको वैधानिक पक्ष र दुव्र्यवहारको घटनालाई छुट्टाछुट्टै कोणबाट समेत अध्ययन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

