महोत्तरीमा एक महिनाअघि गोली हानी डकैती गर्ने गिरोहका तीन सदस्य पक्राउ

राजविराज— महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा एक दम्पतीलाई गोली हानी डकैती गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत जेठ २० गते राति भएको उक्त घटनापछि फरार रहेका अभियुक्तहरूलाई नियन्त्रणमा लिएर प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेहरूमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर छन्। उनीहरूलाई डाँका तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

डीएसपी पञ्चलाल गोलेका अनुसार पक्राउ परेका तीन जनासहितको समूहले स्थानीय रामविश्वास यादवको घरमा प्रवेश गरी डकैती गर्ने क्रममा गोली प्रहार गरेको थियो। घटनाका बेला घरमा सुतिरहेका यादवकी छोरी किरण यादवको खुट्टामा दुई गोली लागेको थियो भने उनका ज्वाइँ ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली लागेको थियो।

गोली लागेर घाइते भएका दुवै जनाको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै संलग्न व्यक्तिहरूको खोजी थालेको थियो। सोही क्रममा तीन जना पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू अझै फरार रहेका छन्। फरार अभियुक्तहरूको पहिचान भइसकेको भन्दै उनीहरूको खोजी तथा पक्राउ अभियान जारी रहेको जनाएको छ।

महोत्तरीमा भएको यो घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको बेला प्रहरीले घटनामा संलग्न मुख्य समूहको पहिचान गरी पक्राउ गर्न सफल भएको दाबी गरेको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट