विद्युत लाइन मर्मतमा निस्किएको प्राधिकरणको स्कोर्पियो दुर्घटनाः दुई कर्मचारीको मृत्यु

विराटनगर— सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो गाडी दुर्घटना हुँदा विद्युत आपूर्ति मर्मत कार्यमा खटिएका दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा देखिएको समस्या समाधान गर्न सोमबार राति निस्किएको प्राधिकरणको टोली बोकेको गाडी दुर्घटनामा परेपछि चालक र हेल्परको ज्यान गएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुलभन्दा करिब २०० मिटर दक्षिणतर्फ सोमबार राति करिब पौने १२ बजे दुर्घटना भएको हो। धरानबाट इटहरीतर्फ आउँदै गरेको नेपाल विद्युत प्राधिकरणको बा १ ञ १६५१ नम्बरको स्कोर्पियो अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा धरान उपमहानगरपालिका–१३ निवासी अन्दाजी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी अन्दाजी ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको छ। राई प्राधिकरणका करार चालक थिए भने आचार्य हेल्पर पदमा कार्यरत स्थायी कर्मचारी थिए।

गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर अस्पताल पु¥याइएलगत्तै राति करिब पौने १ बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्राधिकरणकै अर्का कर्मचारी धरान–२० निवासी अन्दाजी ३२ वर्षीय पदम राई घाइते भएका छन्। ज्यालादारी कर्मचारीका रूपमा कार्यरत उनको अवस्था सामान्य रहेको र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख हरिराम पोखरेलका अनुसार दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मत कार्यका लागि कर्मचारीहरू घटनास्थलतर्फ गएका थिए। विद्युत आपूर्ति प्रणालीमा आएको समस्या समाधान गर्ने क्रममा टोली दुर्घटनामा परेको उनले बताए।

प्रहरीका अनुसार दुर्घटनामा स्कोर्पियो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धानमा गाडी आफैं अनियन्त्रित भएको देखिएको छ। विद्युत लाइन मर्मतका लागि रातिको समयमा हतारमा गन्तव्यतर्फ जाँदै गर्दा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विद्युत आपूर्ति सुचारु गर्न खटिएको प्राविधिक टोली दुर्घटनामा परेपछि प्राधिकरणका कर्मचारी वृत्तमा शोक छाएको छ। घटनाबारे आवश्यक कानुनी तथा प्राविधिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट