तमोरको बाढीले शवसहितको चिता बगायोः मलामी भागाभाग, तीन शवको अन्त्येष्टिमा एकैदिन संकट

धनकुटा– धनकुटाको मूलघाटस्थित तमोर नदीमा सोमबार आएको बाढीले दाहसंस्कार भइरहेको चिता शवसहित बगाएको छ भने दुई शवको अन्त्येष्टि प्रक्रिया समेत प्रभावित बनाएको छ। नदीको सतह सामान्य देखिएपछि नियमित रूपमा दाहसंस्कार भइरहेको अवस्थामा अचानक उर्लिएको बाढीले मूलघाट क्षेत्रमा त्रासदपूर्ण अवस्था सिर्जना गरेको हो।

मूलघाट विश्रान्ति मन्दिरका महासचिव जनार्दन घिमिरेका अनुसार धनकुटा नगरपालिका–६ का ४३ वर्षीय गौरी रोक्काको शव दाहसंस्कार भइरहेका बेला आएको बाढीले चिता बगाएको हो। वैदेशिक रोजगारीका लागि मलेसिया गएका रोक्काको १२ दिनअघि निधन भएको थियो। आइतबार मात्र शव नेपाल ल्याइएपछि परिवारले मूलघाटमा अन्त्येष्टि गरिरहेको थियो।

घटनाका प्रत्यक्षदर्शी तथा त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक पोख्रेलका अनुसार चितामा आगो बलिरहेकै अवस्थामा अत्यन्त तीव्र वेगमा बाढी प्रवेश गरेको थियो। मलामीहरूले शव जोगाउने प्रयास गरे पनि सफल हुन सकेनन्। उनका अनुसार करिब ७५ प्रतिशत जलेको अवस्थामा रहेको शवसहित चिता बाढीले बगाएको थियो।

घटनाले त्यही दिन मूलघाटमा सञ्चालन भइरहेका अन्य दुई अन्त्येष्टि प्रक्रियालाई समेत प्रभावित बनायो। धनकुटा–९ की राधिका निरौलाको दाहसंस्कार भइरहेको चिता पनि बाढीको चपेटामा परेको थियो। चिता असुरक्षित बनेपछि परिवार र मलामीहरूले शव निकालेर अर्को स्थानमा पुनः चिता तयार गरी अन्त्येष्टि सम्पन्न गरेका थिए। तर त्यसक्रममा पनि बाढीको प्रभाव दोहोरिएको बताइएको छ।

यस्तै, छथर जोरपाटी गाउँपालिका–२ की चन्द्रकला अधिकारीको अन्त्येष्टि भइरहेको चितामा समेत बाढीले क्षति पु¥याएको स्थानीयहरूले बताएका छन्। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव घिमिरेका अनुसार मूलघाट क्षेत्रमा यसअघि वर्षायाममा पानीको सतह बढ्ने र दाहसंस्कारमा केही असहजता हुने घटना देखिए पनि चिता नै बगाउने स्तरको घटना पहिलो पटक भएको हो।

उनका अनुसार नदी किनारमा सुरुवाती अवस्था सामान्य देखिएकाले दाहसंस्कार सुरु गरिएको थियो तर माथिल्लो क्षेत्रमा परेको अत्यधिक वर्षापछि अचानक बाढी उर्लिएर आइपुगेको थियो। घटनापछि मूलघाट क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। बाढीको छाल एक्कासि बढेपछि मलामीहरू ज्यान जोगाउन भाग्नुपरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मानव क्षति भने नभएको जनाइएको छ।

घटनालगत्तै जिल्ला प्रशासन कार्यालयले सुरक्षा सतर्कता बढाएको छ। सीडीओ रुद्रादेवी शर्माका अनुसार मलामी तथा स्थानीयको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। उनले नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै वर्षायाममा दाहसंस्कार तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याइन्।

धनकुटाको ऐतिहासिक तथा प्रमुख शवदाह स्थलका रूपमा परिचित मूलघाटमा भएको यो घटनाले वर्षायाममा नदी किनारमा गरिने अन्त्येष्टि व्यवस्थापन, पूर्वसूचना प्रणाली र सुरक्षा सतर्कताबारे नयाँ प्रश्नसमेत उठाएको छ। अचानक आएको बाढीले एक शवसहित चिता बगाउनुका साथै अन्य दुई परिवारलाई समेत अन्त्येष्टि प्रक्रिया पुनः दोहोर्याउन बाध्य बनाएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट