आत्मदाहको प्रयास गरेका विवेक मण्डलको पनि उपचारकै क्रममा मृत्यु

काठमाडौँ– सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको गएराति निधन भएको उनका बुबा उपेन्द्र मण्डलले पुष्टि गरेका छन्।

यससँगै पछिल्ला केही दिनभित्र आत्मदाह प्रयास गरेका तीन जनामध्ये सबैको मृत्यु भएको छ, जसले देशभर मानसिक स्वास्थ्य, आर्थिक असुरक्षा र सामाजिक दबाबबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ।

गोडैता नगरपालिका–१०, सर्लाही निवासी मण्डलले गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो र अवस्था सुरुदेखि नै अत्यन्तै गम्भीर थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

मण्डलको मृत्यु भएसँगै पछिल्ला पाँच दिनभित्र आत्मदाह प्रयास गरेका तीनै जनाले ज्यान गुमाएका छन्। यसअघि त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो भने काठमाडौं महानगरपालिका–१० बुद्धनगर निवासी ४५ वर्षीय व्यवसायी आश्विन राउतको पनि उपचारकै क्रममा निधन भएको थियो।

गणेश नेपालीले गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेका थिए। राहदानी बनाउन काठमाडौं आएका उनी महानगर प्रहरीसँगको विवादपछि आत्मदाहमा उत्रिएको विषयले देशव्यापी बहस जन्माएको थियो। उनको मृत्यु भएपछि परिवारले घटनाको निष्पक्ष छानबिन र जिम्मेवारमाथि कारबाहीको माग गर्दै आएको छ।

यस्तै, शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राउतको शरीरको ५५ देखि ६० प्रतिशत भाग जलेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा राउतको घटनाको तत्कालीन कारण पारिवारिक विवाद देखिए पनि परिवार र नजिकका व्यक्तिहरूले त्यसलाई मात्र कारण मान्न नसकिने बताएका छन्। उनीहरूका अनुसार राउत लामो समयदेखि आर्थिक, स्वास्थ्य तथा पारिवारिक तनावबाट गुज्रिरहेका थिए।

सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि तथा दिव्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै आएका राउत नदी नियन्त्रण तथा तटबन्ध निर्माणमा प्रयोग हुने तारजाली (ग्याभिन) उत्पादनदेखि चीनबाट विभिन्न होम अप्लायन्स सामग्री आयात व्यवसायमा संलग्न थिए। पछिल्लो समय व्यापारिक गतिविधिमा आएको मन्दीले उनी आर्थिक दबाबमा परेका थिए। पारिवारिक स्रोतका अनुसार उनले ललितपुरको भैँसेपाटीस्थित जग्गा बिक्री गरेर आर्थिक व्यवस्थापन गर्ने प्रयाससमेत गरेका थिए।

सिराहाको लाहान स्थायी घर भएका राउत काठमाडौंको बुद्धनगरमा बस्दै आएका थिए। उनी क्षेत्री सेवा समाजका अध्यक्षसमेत थिए। समाजका सचिव रोशन राउतका अनुसार घटना भएको बेला उनकी श्रीमती र छोरा घरमा थिएनन्।

उता, विवेक मण्डल विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) गरेका व्यक्ति थिए। प्रारम्भिक विवरणअनुसार बेरोजगारी, आर्थिक अभाव र मानसिक तनावसँग उनी संघर्ष गरिरहेका थिए। घटनाको थप कारणबारे अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

तीन फरक भूगोल, फरक उमेर समूह र फरक सामाजिक पृष्ठभूमिका व्यक्तिहरूले छोटो अवधिमा एउटै विधि रोजेर आत्मदाहको प्रयास गर्नु र अन्ततः तीनै जनाको मृत्यु हुनुले राज्य, समाज र सरोकारवाला निकायहरूका लागि गम्भीर प्रश्न खडा गरेको छ।

मनोस्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार आत्मदाह संसारकै सबैभन्दा पीडादायी र चरम आत्मघाती विधिमध्ये एक हो। यस्तो निर्णय सामान्यतः तत्कालको आवेगभन्दा पनि लामो समयदेखि थुप्रिँदै गएको मानसिक पीडा, निराशा, आर्थिक दबाब, सामाजिक असुरक्षा वा व्यक्तिगत संकटको परिणाम हुन सक्छ।

गणेश नेपाली, आश्विन राउत र विवेक मण्डलको मृत्युले अहिले एउटा महत्वपूर्ण प्रश्नलाई थप गहिरो बनाएको छ— नेपाली समाजभित्र बढ्दो आर्थिक असुरक्षा, सामाजिक दबाब र मानसिक स्वास्थ्य संकटको संकेतका रूपमा यी घटनाहरूलाई कसरी बुझ्ने? छोटो अवधिमै देखिएको यो श्रृंखलाले सम्बन्धित निकायहरूको ध्यानाकर्षण मात्र होइन, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षाको अवस्थामाथि गम्भीर पुनर्विचारको आवश्यकता पनि औँल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट