सुकुना स्कुलका शिक्षकमाथि छात्रासँग यौन दुर्व्यवहार आरोप, तीन जना पक्राउ
विराटनगर – कोशी प्रदेशकै नमुना र उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा चिनिने मोरङको सुकुना माध्यमिक विद्यालय यतिबेला गम्भीर विवादको केन्द्रमा पुगेको छ। सामाजिक सञ्जालमा छात्रा र पूर्वछात्राहरूले वर्षौंदेखि आफूहरूले भोगेको भन्दै सार्वजनिक गरेका यौनजन्य दुव्र्यवहार, अनुपयुक्त व्यवहार र मानसिक उत्पीडनका आरोपहरू प्रहरी अनुसन्धानसम्म पुगेपछि विद्यालयका दुई शिक्षक र एक सवारी चालक पक्राउ परेका छन्।
घटनाले विद्यालयभित्र विद्यार्थी सुरक्षाको अवस्था, उजुरी व्यवस्थापन प्रणाली र प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाएको छ। मोरङ प्रहरीले सोमबार बिहान विद्यालयका शिक्षक अबिरल मास्के, शिक्षक किशोरलाल गच्छदार तथा विद्यालयका सवारी चालक प्रदीप भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।
पक्राउ परेका मास्के सुन्दरहरैँचा–१२, गच्छदार सुन्दरहरैँचा–२ र भट्टराई सुन्दरहरैँचा–१० का बासिन्दा हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयका छात्राहरूलाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको विषय प्रहरीसम्म पुगेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
प्रारम्भिक सूचनाका आधारमा यौनजन्य दुव्र्यवहारसम्बन्धी आशंकासमेत देखिएकाले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यो घटनाको सुरुवात भने प्रहरी अनुसन्धानबाट होइन, सामाजिक सञ्जालबाट भएको थियो। केही दिनयता फेसबुक, इन्स्टाग्राम र अन्य डिजिटल प्लेटफर्महरूमा सुकुना माविका वर्तमान तथा पूर्वछात्राहरूले आफूहरूमाथि भएको दाबी गरिएको दुव्र्यवहारबारे खुला रूपमा बोल्न थालेका थिए।
उनीहरूले सार्वजनिक गरेका अडियो तथा अभिव्यक्तिहरू तीव्र रूपमा फैलिन थालेपछि विषयले व्यापक ध्यान तानेको हो। विद्यालयका लेखा अधिकृतसमेत रहेका शिक्षक अबिरल मास्केमाथि विशेषगरी गम्भीर आरोप केन्द्रित छ। छात्राहरूका अनुसार उनले अश्लील सन्देश पठाउने, व्यक्तिगत सम्बन्ध बनाउन दबाब दिने, अनुपयुक्त सम्बोधन गर्ने तथा शरीरमा अनावश्यक रूपमा छुने प्रयास गर्ने गरेका थिए।
एक छात्राले सार्वजनिक रूपमा आफूले भोगेको अनुभव सुनाउँदै विद्यालयमा आफ्नो बदनामी हुने डरले लामो समयसम्म मौन बस्नुपरेको बताएकी छिन्। अर्की छात्राले कक्षा ११ मा अध्ययनरत रहँदा शिक्षकले आफ्नी साथीलाई ‘बेबी’ र ‘डार्लिङ’ जस्ता शब्द प्रयोग गर्दै सम्बोधन गर्ने, बाटो छेक्ने तथा गाला र हात छुने प्रयास गर्ने गरेको आरोप लगाएकी छिन्।
घटनाको अर्को गम्भीर पक्ष भने विद्यालय प्रशासनको भूमिकासँग जोडिएको छ। एक पूर्वछात्राले आफूहरू केही वर्षअघि नै विद्यालयका जिम्मेवार शिक्षकसमक्ष गुनासो लिएर पुगेको दाबी गरेकी छिन्। उनका अनुसार त्यतिबेला विषयलाई गम्भीर रूपमा नलिइएको र औपचारिक कारबाही वा अनुसन्धान प्रक्रिया अघि नबढाइएको कारण पीडितहरू निराश बनेका थिए।
पूर्वछात्राहरूका अनुसार त्यतिबेला प्रमाण अभाव र सामाजिक दबाबका कारण सार्वजनिक रूपमा बोल्न नसकिए पनि अहिले पनि यस्तै व्यवहार दोहोरिएको जानकारी पाएपछि उनीहरू मौन बस्न नसकेको बताउँछन्। उनीहरूको भनाइमा आफ्ना अनुभव सार्वजनिक गर्नुको उद्देश्य व्यक्तिगत प्रतिशोध होइन, विद्यालयमा अध्ययनरत अन्य छात्राहरूको सुरक्षा सुनिश्चित गराउनु हो।
सामाजिक सञ्जालमा अडियो र आरोपहरू सार्वजनिक हुन थालेपछि विद्यालयभित्र समेत असन्तोष बढेको थियो। विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरिरहेको अवस्थामा प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याएको स्रोतहरू बताउँछन्।
डीएसपी मिश्रका अनुसार पक्राउ परेकाहरूमाथिको आरोप अनुसन्धानकै चरणमा रहेकाले प्रमाण, बयान, डिजिटल सामग्री तथा अन्य तथ्यहरूको परीक्षणपछि मात्रै वास्तविकता स्पष्ट हुनेछ। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए कानुनअनुसार थप कारबाही गरिने उनले बताएका छन्।
यसबीच, सामाजिक सञ्जालमा घटना सम्बन्धी विभिन्न टिप्पणी, आरोप र निष्कर्षहरू सार्वजनिक भइरहेका छन्। प्रहरीले अपुष्ट सूचना र भ्रामक सामग्री फैलाउन नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
विद्यालय प्रशासनको आधिकारिक धारणा भने अझै सार्वजनिक भएको छैन। विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतसँग सम्पर्क गर्ने प्रयास भए पनि समाचार तयार पार्दासम्म प्रतिक्रिया प्राप्त हुन सकेको छैन। पक्राउ परेका शिक्षक र सवारी चालकको विस्तृत प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।
कोशी प्रदेशको शैक्षिक क्षेत्रमा प्रतिष्ठित मानिने सुकुना माध्यमिक विद्यालयसँग जोडिएको यो घटनाले एउटा विद्यालयको सीमाभन्दा बाहिर गएर व्यापक बहस जन्माएको छ। विद्यार्थी सुरक्षाको प्रत्याभूति, विद्यालयभित्र हुने सम्भावित दुव्र्यवहारका उजुरीहरूको सुनुवाइ, प्रशासनिक जवाफदेहिता र शैक्षिक संस्थाहरूमा सुरक्षित वातावरण निर्माणको विषय अहिले पुनः केन्द्रमा आएको छ।
हाल तीन जना अनुसन्धानको दायरामा छन्। तर सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोप, छात्राहरूले सुनाएका अनुभव, विद्यालय प्रशासनमाथि उठेका प्रश्न र प्रहरी अनुसन्धानको दिशाले आगामी दिनमा यो प्रकरण अझै गहिरो बन्न सक्ने संकेत देखिएको छ। अनुसन्धानले यी आरोपहरूको सत्यता पुष्टि गर्छ वा खण्डन गर्छ भन्ने कुरा भने अब प्रमाण र कानुनी प्रक्रियाले नै तय गर्नेछ।


