बालेन बसेको लटौली रिसोर्टमा लफडाः ‘सूचना चुहावट’ को विवादपछि जनरल म्यानेजरसहित चार कर्मचारी बाहिरिए
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) बसेको चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा आन्तरिक विवाद चर्किएपछि जनरल म्यानेजरसहित चार जना कर्मचारी बाहिरिएका छन्।
रिसोर्टमा आएका पाहुना तथा संस्थासम्बन्धी सूचना बाहिरिएको आरोप लगाउँदै सञ्चालक ज्ञानेन्द्र खड्काले उच्च तहका कर्मचारीमाथि असन्तुष्टि जनाएपछि विवाद उत्कर्षमा पुगेको स्रोतले जनाएको छ।
चितवनको कालिका नगरपालिका–९, शक्तिखोरस्थित उक्त रिसोर्टमा सञ्चालक र व्यवस्थापन तहबीच लामो समयदेखि मतभेद बढ्दै गएको बताइन्छ। विवादपछि जनरल म्यानेजर रोशन पुरीसहित चार कर्मचारीले जिम्मेवारी छाडेका छन्। रिसोर्ट स्रोतका अनुसार सञ्चालक खड्काले रिसोर्टभित्रका गतिविधि, पाहुनाको विवरण र आन्तरिक सूचना सञ्चारमाध्यमसम्म पुगेको विषयलाई गम्भीर रूपमा लिएका थिए।
रास्वपाको महाधिवेशन असार ७ गतेदेखि चितवनमा सञ्चालन भएको थियो। सोही क्रममा प्रधानमन्त्री बालेन साह परिवारसहित लटौली सेन्चुरी रिसोर्टमा तीन दिन बसेका थिए। स्रोतका अनुसार त्यस अवधिमा रिसोर्टका १६ वटा कोठा बुक गरिएको थियो। केही कर्मचारीलाई बिदा दिइएको तथा सीसीटीभी क्यामेरा बन्द गरिएको विषय सार्वजनिक भएपछि त्यसबारे सञ्चालकले बारम्बार चासो व्यक्त गर्दै आएका थिए।
रिसोर्टबाट बाहिरिएका एक पूर्वउच्च कर्मचारीका अनुसार संस्थाभित्र तल्लो तहका कर्मचारीलाई निगरानी र सूचना संकलनका काममा प्रयोग गरिएको आरोपसमेत उठेको थियो। उनका अनुसार स्थानीय कर्मचारीसँग व्यक्तिगत सम्बन्ध र प्रभाव प्रयोग गरेर व्यवस्थापन चलाउने शैलीका कारण पनि आन्तरिक असन्तुष्टि बढ्दै गएको थियो।
यस्तै, कर प्रशासन, स्थानीय प्रशासनका कर्मचारी र विभिन्न प्रभावशाली व्यक्तिसँगको सम्बन्धलाई लिएर पनि व्यवस्थापनभित्र मतभेद बढेको दाबी ती कर्मचारीको छ। यद्यपि यी आरोपबारे रिसोर्ट सञ्चालक खड्काको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
लटौली सेन्चुरी रिसोर्टका सञ्चालक ज्ञानेन्द्र खड्का यसअघि पनि विभिन्न व्यावसायिक विवादका कारण चर्चामा आएका थिए। पछिल्लो समय केही सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा रिसोर्ट निर्माणमा प्रयोग भएको लगानीको स्रोतबारे प्रश्न उठाइएको छ। ती सामग्रीमा खड्का क्रिप्टोकरेन्सी र बिटक्वाइन कारोबारबाट आर्जित रकम होटल व्यवसायमा लगानी गरेको आरोप उल्लेख गरिएको छ। साथै, लगानीको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्थासमेत चर्चामा छ।
यद्यपि ती आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन। सम्बन्धित सरकारी निकायले हालसम्म रिसोर्टको लगानी स्रोतबारे कुनै आधिकारिक निष्कर्ष सार्वजनिक गरेका छैनन्। आन्तरिक राजस्व कार्यालय, भरतपुरका सूचना अधिकारी रामकुमार अधिकारीले भने रिसोर्ट हालै सञ्चालनमा आएको व्यवसाय भएकाले नियमित कर विवरण बुझाउने समय नपुगेको बताएका छन्।
उनका अनुसार रिसोर्ट गएको चैत–वैशाखतिर सञ्चालनमा आएकाले करसम्बन्धी नियमित विवरण बुझाउने प्रक्रिया प्रारम्भिक चरणमै छ। रिसोर्ट व्यवस्थापनसँग लगानी स्रोतबारे प्रतिक्रिया लिन खोज्दा सञ्चालक खड्कासँग प्रत्यक्ष सम्पर्क हुन सकेन। रिसोर्टका एक कर्मचारीले उनको सम्पर्क विवरण उपलब्ध गराउन अस्वीकार गरेका थिए।
लटौली सेन्चुरी रिसोर्ट २०८३ वैशाखदेखि सञ्चालनमा आएको हो। तर रास्वपाको महाधिवेशनका क्रममा प्रधानमन्त्री बालेन साह त्यहाँ बसेपछि रिसोर्ट राष्ट्रिय चर्चामा आएको थियो। त्यसयता रिसोर्टभित्रको व्यवस्थापन, सूचना चुहावटको आरोप, कर्मचारी बहिर्गमन र लगानी स्रोतसम्बन्धी प्रश्नहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्।
हालसम्म सम्बन्धित सरकारी निकायले यी विषयमा कुनै औपचारिक छानबिन वा निष्कर्ष सार्वजनिक गरेका छैनन्। तर रिसोर्टभित्रको पछिल्लो घटनाक्रमले व्यवस्थापन प्रणाली, गोपनीयता र वित्तीय पारदर्शितासम्बन्धी बहसलाई भने थप तीव्र बनाएको छ।

